
हमार पहुरा डट कम
बुटवल, असोज २० गते । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी तोक्ने विषयमा प्रदेश सभाले दुई तिहाई बहुमत बाट पारित गरेको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत परेको थियो ।
प्रदेश ५ मा जम्मा ८७ जना सांसद छन् । जसमध्ये मंगलबारको बैठकमा ८२ जनाको उपस्थिति थियो । प्रदेश ५ को अस्थायी राजधानी बुटवल रहँदैआएको छ । बुटवललाई नै स्थायी राजधानी बनाउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आन्दोलन गर्दैआएको छ ।
प्रदेश प्रमुख शंकर पोखरेलले मंगलबार सभामा सम्बोधन गर्दै सामरिक र मनोवैज्ञानिक हिसावले पनि प्रदेश ५ को राजधानी दाङको राप्ती गाउँपालिका उपयुक्त भएको बताउनुभएको थियो । प्रदेश कानुनमन्त्री कुलप्रसाद केसीले प्रस्तुत गर्नुभएको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो ।
प्रदेश ५ सरकारले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकालाई समेटेर स्थायी राजधानी बनाउने घोषणा गरेको छ । राप्ती नदीको किनारमा प्रेदेश राजधानी राख्दा प्राकृतिक हिसावले पनि सुन्दर शहर निर्माण हुने विश्वास प्रदेश सरकारले गरेको छ ।
त्यस्तै, प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी प्रस्ताव गरेपछि नाम पनि दुई तिहाई बहुमतले पारित भएको छ । लुम्बिनीको पक्षमा ७९ मत र विपक्षमा ४ मत परेको थियो ।




