सेतो रङ्गलाई प्राकृतिक रङ भन्ने गरिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृतिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृतिम अन्य रङले रङ्गाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरङ्गी बनेको छ । चाडपर्वमा विभिन्न रङ्गीविरङ्गी चिजवस्तुको निर्माण र खपत हुनेगर्छ । यहाँसम्मकी मान्छेले चाडपर्वमा लगाउने टीकाको रङ पनि विभिन्न रङ मिसाएर बनाउने प्रचलन शुरुभएको छ । नेपाली समाजमा अधिकांशले रातो रङको टीका लगाउने गर्छन् । तर नेपालको दक्षिणी समथर सिमानामा बसोबास गर्ने आदिबासी थारु र पहाडमा बसोबास गर्ने केही आदिबासीहरुले चाडपर्वमा रङ्गीविरङ्गी टीका ग्रहण गर्दैनन् । प्राकृतिक सेतो रङकै टीका ग्रहण गर्दछन् । थारु समुदायले दशैंमा अभिभावकबाट प्रसादकोरुपमा ग्रहण गर्ने टीका सेतो हुन्छ । चामलको पीठोको टीकासहित जमरा, दौना, बेबुरी (बाबरी) को फूल दशैंमा थारुले ग्रहण गर्छन् । अरुबेला दौना बेबुरीको फूल प्रयोग नहुने हुनाले थारु समुदायले दशैंमा टीकासँगै विशेषरुपले ग्रहण गर्छन् । थारु समुदायकाले निधारमा मात्रै दशैंको टीका लाउँदैनन् । पाखुरा, घुँडा, पैतलामा समेत लाउँछन । यसको अर्थ निधार, काम गर्ने पाखुरा, घुँडा र पैतला बलिया हौउन, शरीर स्वस्थ्य हौउन् भन्ने मनोकामना गरिन्छ ।
सेतो नै किन ?
थारुले आफूलाई प्रकृतिपूजक मान्छन् । प्रकृतिसँग लडीबुडी गर्दै हुर्केबढेकाले परापूर्वकालमा रङको उत्पादन नहुँदा सेतो रङसँगै लहसिए । त्यही रङको प्रयोग गर्दै अहिलेसम्म सेतो टीका लगाउने प्रचलन कायमै छ । थारु संस्कृतिकका जानकार अशोक थारुले सेतो टीकाबारे भन्नुहुन्छ, “प्रकृति र आदिमजातिको सम्बन्ध अटुट छ । अन्य कृत्रिम रङको उत्पत्ति नहुँदै प्राकृतिक रङ सेतोमात्र थियो । त्यही रङ पहिलेदेखि चलनचल्तीमा ल्याइएकाले थारुहरुको प्यारो रङ सेतो नै बन्यो । देवीदेवताको पूजागर्दा र पहिरनमा समेत प्रमुख रङ सेतो कायम भयो । सेतो रङसँग थारुको प्राकृतिक सम्बन्ध छ । त्यही सम्बन्धलाई कायम राख्न थारुलगायतका आदिबासीहरु सेतो रङको प्रयोग गर्दछन् ।”
अर्का अगुवा तथा संस्कृतिका अनुसन्धानकर्ता सुशील थारुको भनाइमा सेतो रङ शान्तिको प्रतीक हो । थारु जाति शान्तिकामी जाती हो । लडाई झगडा र छलछाममा विश्वास गर्दैन । प्राचीनकालदेखि थारु जातिले आफ्नो देवीदेवतालाई गाईको दुधले पूजागर्ने गर्दथ्यो । गाईको दुध पनि सेतो भएकाले त्यसलाई प्रकृतिसँग जोडेर हेर्ने प्रचलन भयो । देवताका लागि गाईको दुध र स्वच्छ पानी सबैभन्दा पवित्र मानिने हुनाले थारुले त्यसको उपयोग गर्दैआए ।
उसो त सेतो रङलाई शान्तिको प्रतिक पनि मानिन्छ । गौतमबुद्धलाई थारु अगुवाले थारु परिवारकै सदस्य मान्छन् । त्यही भएर गौतमबुद्धले शान्तिकामी अभियानको अगुवाई गरेको कतिपयको विश्लेषण छ ।
पहिरन र परिकार पनि सेतै
थारु चेलीबेटीले सेतो रङको फरिया र गुन्यू लगाउने गर्छन् । चोली रंगीन हुने गरेपनि फरिया सेतो नै पहिरिने उहिल्यैदेखिको प्रचलन हो । दशैंमा नाचिने विशेष नाच सखियामा समेत नचनियाहरुले सेतो फरिया र गुन्यू प्रयोग गर्छन् । आजभोलिका युवतिहरुले पुरानो संस्कारलाई खासै महत्व नदिएर पश्चिमा संस्कृतिको अनुशरण गरेको देखिन्छ । अरु समुदायको देखासिकी गरेर रंगीविरंगी पहिरन लगाउन थालिएको छ । यद्यपि गाउँघरका अगुवाले अझै थारु सेतो पहिरनमै विशेष जोड दिनेगरेका छन् । सम्भवः भएसम्म सेतो फरियामै नचनियाहरुलाई सजाउने गरिन्छ ।
दशैंमा नभइ नहुने परिकार हो ढिक्री । घरका सदस्यले परिकार खानुभन्दा पहिले देवीदेवतालाई चढाउने प्रचलन छ । पितृ, देवतालाई पूजा गरिसकेपछि मात्र प्रसादको रुपमा ढिक्री ग्रहण गरिन्छ । ढिक्री परिकार नयाँ चामलले मात्र तयार पारिन्छ । दशैंमा बनाउने ढिक्रीका लागि चाँडै फल्ने धान रोपिन्छ । सबैको घरमा नयाँ चामल उपलब्ध नभए सापटी, पैंचो मागेर पनि काम चलाउने प्रचलन थारु गाउँमा छ । थारु समुदायको देवीदेवता पनि काठ, फलाम र माटोले निर्माण गरिन्छन् । मैया (भगवती), शिव पार्वती, घोडाको आकारसमेत काठ र माटाले निर्माण गरिएका हुन्छन् । त्यसैले थारु समुदायले आफूलाई प्रकृतिपूजक मान्छन् ।
दशैंमा बली दिइदैन
थारु समुदायमा जीवजनावरको बध गरेर देवतालाई बली चढाइदैन । घरबारीमै फलेको कुपिण्डोको बलीदिने प्रचलन छ । अद्यापि धेरै गाउँमा कुपिण्डोकै बली दिइन्छ । दशैंको पूजा गर्नुअघि बारीमा फलेको कुपिण्डो खाने प्रचलन थारु समुदायमा छैन । पूजा गरेपछि मात्रै तरकारीको रुपमा खाने गरिन्छ । तर अरुको देखासिकीमा अहिले कुखुरासम्मको बली चढाउने प्रचलन शुरु भइसकेको छ । थारु समुदायले दशैंलाई सम्बन्ध जोड्ने संगमको रुपमा लिन्छन् । दशैंपूजा प्रकृतिसँग जोडिएको छ । धर्मशास्त्रीको विचारमा पृथ्वीका सबै जीवजन्तु बरावर हुन् । सबैको पीडा र दुःख समान छ । एकले अर्कोलाई मारेर, बधगरेर आफ्नो स्वार्थ पूरागर्नु सेवा होइन, कल्याण होइन । मानवले बनाएको त्यो त स्वार्थी भावना हो । त्यसले कहिल्यै चराचरजगतको कल्याण गर्दैन । शक्तिकीस्वरुपा जगतमाताले बली मागेकी थिइनन् । मानिसको स्वार्थ र अज्ञानताले बलीदिने प्रचलन शुरुभयो । यसको दोसी हामी मानव स्वयम् हौं । शास्त्रीय मान्यतामा ‘बली’ को अर्थ ‘उपहार’ हुन्छ । उपहारमा खीर, फलफूल, मिठाई, नरिवल, ढिक्री जे पनि हुनसक्छ ।
लेखकः लक्की चौधरी
भगवानको पूजागर्ने अधिकार धनी र गरिब सबैलाई समान छ । जोसँग जे छ, उसले त्यही उपहार देवतालाई चढाउन पाउँछ । उहिले मानिस जंगलमा घुम्थे । शिकार गरी जीवन निर्वाह गर्दथे । माछा मारेर जीवन गुजारा गर्दथे । त्यतिबेला उनीहरुसँग भगवानलाई चढाउने आजको जस्तो चिजवस्तु थिएन । त्यसैले उनीहरु आफूसँग भएको सामान चढाएर देवताको पूजापाठ गर्दथे । उनीहरुको जीवन प्रकृतिमै निर्भर थियो । माछा मारेर जीवन धान्नेसँग माछा मात्रै थियो । वनजंगलमा शिकार गर्नेसँग शिकार मात्रै र अन्न उब्जाउने किसानसँग अन्न मात्रै थियो । त्यसैले उनीहरु भगवानलाई त्यही माछा, मासु र अन्न चढाएर पूजापाठ गर्थे । तर त्यसैलाई आधार मानी देवीदेवतालाई बली चढाउने प्रचलन मान्नुलाई मानवीय अज्ञानताको रुपमा कतिपयले अथ्र्याउँछन् ।
सखिया नाचको रौनक
थारु सखिया नाच थारु समुदायको प्रमुख नाच मध्येको हो । थारु चेलीहरुले लहरै लाइन लागेर मादलको तालमा नाच्ने गर्छन् । सखिया नाचमा विशेष किसिमको थारु गीत गाइन्छ । सखीया नाचको गीत महाभारतको कथामा आधारित लामो पैधारको छ । त्यसैले कृष्णजन्माष्टमीदेखि गाउन शुरुहुने गीत दशैं या तिहारमा गएर अन्त्य हुन्छ । नाचकालागि कम्तिमा दुई र वढीमा चार जनासम्म मादले हुन्छन् । मादले पुरुष र महिला दुवै हुन सक्छन् । तर नाच्नेहरु महिला मात्र हुन्छन् । गीत गाउँदा अगुनिया (गीत उठाउने) र उठाएको गीतलाई दोहो¥याएर गाउने (पछगुनिया) हुन्छन् । मादलकै तालसँग गीत पनि गाइन्छ । सखियानाच नभएको थारुगाउँ सुनसान हुने र दशैं चाडको महशुस नहुने बुझाई थारु अगुवाको छ । त्यसैले हरेक वर्ष थारु गाउँमा सखिया नाच नाचिन्छ । नाचले थारुगाउँ गुञ्जयमान हुँदा दशैंको रौनक नै बेग्लै बनेको हुन्छ । थारुगाउँमा नाच हेर्न छिमेकी गाउँका थारु तथा गैरथारुहरु आउने जाने गर्छन् ।
तर यस पटक कोभिड १९ माहामारीका कारण थारु गाउँमा सखिया नाचको रौनक छैन । गाउँ प्रायः सुनसान छ । अरुबेला सखिया नाचसँगै दिननचुवा नाच, झम्रा नाच गरेर गाउँ नै गुन्जयमान हुन्थ्यो । तर अहिले सरकारले पनि २५ भन्दा वढी मानिस एकै ठाउँमा जम्मा नहुनु भन्ने उर्दी गरेपछि गाउँघरमा यसपाली रमाइलो छैन । कोरोनाको असर चौतर्फी छ । हाम्रो गाउँघरमा मात्र होइन, विश्वभर यही समस्या छ । त्यसैले यस वर्षको दशैं सुनसान छ ।
थारुको देवीदेवता
गुर्वावा (शीव) लाई सृष्टिकर्ताको रुपमा मानिन्छ । मैया (भगवती), खेखरी (मैया), लागुबासु (नागदेवता), सौंरा (गणेश), डहरचण्डी (पार्वती), लटौ महादेव, ढमरज्वा (धर्मराज), मुराहा देवता (कृष्ण), जगन्नठ्या, धनचोर्वा, घोडा र भेडाको आकारको देवताको प्रतिक पनि थारुको मर्वा (देवता बस्ने घर), देहुरारको पातामा राख्ने प्रचलन छ । थारु गाउँको देवताहरु साझारुपमा बस्ने ठाउँलाई रजमर्वा (देवथान) भनिन्छ । जहाँ गाउँ भरिका सदस्यले दशैंमा सामुहिक रुपमा पितृपूजा गर्छन् । धुपबत्ती, ढिक्री प्रसाद चढाएर पूजा गरेर परिकारलाई प्रसादको रुपमा चढाउँछन् । पितृलाई खान आव्हान गर्छन् । साझा देवतालाई पूजागर्दा सबैचिज नयाँ र चोखो चाहिन्छ ।
थारु गाउँमा दशैंकाबेला देवताको पातामा चढाउने सबै सामान नयाँ प्रयोग हुन्छ । दशैंमा चढाएको सामान बेटको लठ्ठी, बहर्नी (सिरुको कुचो), झोला, फलामको काँटा, माटाका घोडा, दियो, भित्तामा लगाउने पञ्जाको छाप एक वर्षसम्म कायम रहन्छ । त्यसलाई अर्को दशैंमा परिवर्तन गरिन्छ ।
थारुको मर्वा र पातामा घोडाको आकृति राखिन्छ । कारण उहिले हाम्रा पूर्खाहरु लडाई गर्दा घोडामा सवार भएर लडाई गरे । देवी र दानवबीच लडाई भयो । घोडामा सवार भएर लडाईमा विजय प्राप्त गरेकाले हाम्रो मर्वा, पातामा घोडालाई स्थान दिइएको छ । अर्थात् घोडा भनेका विजयका प्रतीक हुन् । घरको रक्षकको प्रतीकको रुपमा घोडालाई पूजिने गरिन्छ ।
थारु समुदायमा खासमा चार दिन दशैं मनाइन्छ । घटस्थापना (दुतिया) को दिन जमरा राखिन्छ । दुतिया पनि कसैले घटस्थापनाको दिन हेर्छ, कसैले एकदिन पछाडि । जुनदिन दुतिया हेरिन्छ, त्यही दिन जमरा राखिन्छ । जमरामा मकै, जौं राख्ने प्रचलन छ । अन्नमा सबैभन्दा पूरानो अन्न मकै भएकाले जमरामा मकैको बढी प्राथमिकता हुन्छ । त्यस्तै, सप्तमीमा पैन अस्टोपी धुने, अष्टमीमा देवतालाई ढिक्री पूज्ने, नवमीमा पितृपूजा गर्ने, मासु खाने । कसै कसैले भालेको बली दिएर पूजा गर्छन र त्यही भालेको मासु खान्छन् । दशमीमा सेतो टीका अभिभावकबाट ग्रहण गरेपछि थारुको दशैं सकिन्छ ।