लेखिका बालिका चौधरी श्रीप्रसाद दाहाल स्रष्टा सौगात सम्मानबाट सम्मानित


हमार पहुरा डट कम
दाङ, कात्तिक २९ गते । मानवअधिकार तथा शान्ति समाजले लेखिका बालिका चौधरीलाई शनिबार एक कार्यक्रमबीच नगदसहित सम्मान प्रदान गरेको छ । पुरस्कारको राशी नगद २० हजार र सम्मानपत्र रहेको छ ।

शान्ति समाज दाङ शाखाका उपसभापति तुलसीराम सुनारको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् प्राध्यापक गदाधर पौडेलले लेखिका चौधरीलाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात सम्मान प्रदान गर्नुभयो । सो अवसरमा दाङका आठ वटा साहित्यिक तथा सामाजिक संघ संस्थाले चौधरीलाई संयुक्तरुपमा सम्मानित गरेका थिए ।

कार्यक्रममा समाजका केन्द्रीय महासचिव सुशील बस्नेत, राप्ती साहित्य परिषदका सल्लाहकार डा. लोकराज पराजुली, दाङ साहित्य परिषदका अध्यक्ष डिल्लीराज श्रीधर, थारु संस्कृतिका विज्ञ तथा अनुसन्धानकर्ता अशोक थारु, लेखक तथा अधिकारकर्मी सुशील चौधरी, साहित्यकार तिलक न्यौपाने, स्रष्टा मन्जु कँडेल, छविकिरण वली, ज्येष्ठ नागरिक समाजका अध्यक्ष खुमान्द अधिकारी लगायतले मन्तव्य व्यक्त गर्दै सम्मानित लेखिका चौधरीलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

लेखिका चौधरीको पछिल्लो कृति ‘जीवनका बक्र रेखाहरु’ पुस्तक प्रकाशित छ । यसैबीच शान्ति समाजले शनिबार पाँच जिल्लाका स्रष्टालाई एकसाथ सम्मानित गरेको छ ।

तपाईको प्रतिक्रिया