आयोगले थारु समुदायको अपेक्षाअनुसार काम गर्न सकेको छैनः अध्यक्ष चौधरी


हमार पहुरा डट कम
काठमाडौं, पुस २३ गते । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोग स्वायत्त निकाय नभएकाले चाहेकोअनुसार काम गर्न नसकिएको बताउनुभएको छ । आयोगकै कार्यकक्षमा थारु अगुवाहरुसँग विहिबार छलफल गर्नुहुँदै अध्यक्ष चौधरीले सीमित बजेट र सीमित जनशक्तिकाबीच थारु समुदायले अपेक्षा गरेअनुसार आयोगले काम गर्न नसकेको बताउनुभएको हो ।

थारु आन्दोलन तथा पहिचानको मुद्दामा आयोगलाई काम गर्ने इच्छा भएपनि आयोग ऐन र विनियमले बाँधिएकाले काम गर्न नसकिएको अध्यक्ष चौधरीले प्रष्ट पार्नुभयो । “आयोग आफैमा स्वायत्त निकाय होइन, सरकारप्रति निर्भर छ, त्यसैले आफूखुशी निर्णय गर्न सक्दैन” उहाँले भन्नुभयो । टीकापुर घटनाको विषयमा आयोगले अझ केही गर्न नसकेको उहाँले बताउनुभयो ।

आयोग पूर्णता पाउनेक्रममा रहेको भएपनि कर्मचारी कटौती हुँदा काम गर्न झन कठिन हुने उहाँले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, “आयोगमा सदस्यहरु आउनेक्रम शुरुभएको छ, तर यसबीचमा सरकारले कर्मचारीहरु धमाधम कटौती गरिरहेको छ ।” आयोगले विभिन्न शीर्षकमा काम गर्न चाहेको भएपनि बजेट सीमित्ताका कारण काम गर्न कठिन रहेको उहाँले बताउनुभयो ।

थारु मानक भाषा निर्माणका विषयमा आयोगले सम्बन्धित पक्षसँग सहकार्य गरेर काम गर्ने सोच बनाएको भएपनि त्यस शिर्षकमा बजेट पर्याप्त नभएको अध्यक्ष चौधरीले बताउनुभयो । थारु समुदायको तथ्याङ्क संकलन गर्ने माग समुदायबाट भएपनि आयोग एक्लैले बजेट अभावमा त्यो काम गर्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । अहिले थारुको थर सूचीकरणको काम भइरहेको जानकारी दिनुहुँदै अध्यक्ष चौधरीले आयोगले पूर्णता पाउन नसक्दा आवश्यक विषयमा निर्णय गर्न समस्या भइरहेको बताउनुभयो ।

तालिम प्रशिक्षण गर्ने विषय थारु समुदायको मागको विषय भएपनि त्यस शीर्षकमा सरकारले बजेट कटौती गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । सीमित बजेटकाबीच काम गर्नुपरेकाले समुदायको ठूलो अपेक्षाको सम्बोधन नभएको उहाँले प्रष्ट पार्नुभयो । थारु चाडपर्व समेटिएको भित्तेपात्रो निर्माणका लागि सम्बन्धित पक्षहरुसँग छलफल र परामर्श गरेर अघि बढ्ने तयारी भएको अध्यक्ष चौधरीले बताउनुभयो ।

कार्यक्रममा थारु अगुवाहरु शान्ति चौधरी, लक्की चौधरी, बुद्धसेन चौधरी, कृष्णराज सर्वहारी, मानबहादुर चौधरी, सियाराम चौधरी लगायतले आयोगको भावी कार्यक्रमबारे सुझाव दिनुभएको थियो । सरकारले २०७८ जनगणनाको तयारीमा रहेकाले आयोगले त्यसबारे थारु समुदायमा सचेतीकरणको काम गर्नुपर्ने, थारु मानक भाषा निर्माणमा सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने, थारु मन्त्रज्ञानबारे युवापुस्तालाई अभिमुखीकरण तालिम दिई थारु मन्त्र पुस्तान्तरणमा सहयोग गर्नुपर्ने, देउथानको संरक्षण र त्यसको महत्वबारे जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने, थारु होमस्टेको सूचीसहित होमस्टेको सफलताको कथाबारे बृत्तचित्र प्रोफाइल निर्माण गरिनुपर्ने लगायतका विषयमा आयोगले ध्यान दिनुपर्ने सुझाव वक्ताहरुले दिएका थिए ।

तपाईको प्रतिक्रिया