मैले होइन, अध्यक्ष प्रचण्डले गल्ती गर्नुभएको छ: श्रममन्त्री गौरीशंकर चौधरी


हमार पहुरा डट कम
धनगढी, पुस २४ गते । श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीले मन्त्री भएर आफूले गल्ती गर्नुभन्दा अध्यक्ष प्रचण्डले गल्ती गर्नुभएको बताउनुभएको छ । “स्वार्थ मिल्दा पार्टी नै अरुसँग मिलाउनेले गल्ती गरेको हो कि हामीले ?” मन्त्री चौधरीले जिज्ञासा गर्नुभयो ।

नेकपाको बृहत आमसभामा शुक्रबार धनगढीमा बोल्दै मन्त्री चौधरीले सो कुरा बताउनुभयो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि ओली नेतृत्वको सरकार र पार्टी नै उपयुक्त भएको उहाँले बताउनुभयो । जनताको सल्लाह र सुझावअनुसार आफूले काम गर्ने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।

“तत्कालिन एमालेसँग आफ्नो पार्टी मिलाउने प्रचण्ड होइन ? हामी पार्टी छाडेर आएको होइन, उहाँले आफै हामीलाई यो पार्टीमा ल्याउनुभएको हो” मन्त्री चौधरीले भन्नुभयो, “स्वार्थ मिल्दा पार्टी एकता गर्ने, पद नमिल्दा पार्टी छाड्ने उहाँ स्वार्थी हो कि हामी ?” अध्यक्ष प्रचण्ड जता जाँदा हामी त्यही जानुपर्छ भन्ने केही छैन उहाँले भन्नुभयो ।

पार्टीबाट चोइटिएर गएका दुई चारजना व्यक्तिहरुको झुण्डले बाहिर विरोध गरिरहेको बताउनुहुँदै मन्त्री चौधरीले त्यसले केही फरक नपर्ने प्रष्ट पार्नुभयो । देशको समृद्धि र आर्थिक विकासका लागि आफू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संस्थापन पक्षमा लागेको प्रष्ट पार्नुभयो । सरकारमा रहेरै जनयुद्धका घाइते अपाङ्गता भएकाहरुको उत्थान गर्न सकिन्छ, सडकबाट होइन उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्ड दुई दुई पटक प्रधानमन्त्री हुँदा जनयुद्धका घाइते, अपाङ्गता भएकाहरुका लागि केही काम नगरेको मन्त्री चौधरीले बताउनुभयो । “यदि बाटो विराएर प्रचण्डको पछि जानुभएको छ भने साथीहरु यता हामीसँग आउनुस्” मन्त्री चौधरीले भन्नुभयो । आफू मन्त्रालयको जिम्मेवारीमा रहँदासम्म प्रधानमन्त्री ओलीलाई कुनै समस्या आउन नदिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

त्यसैगरी विघटित प्रतिनिसिधभाका सांसद नारदमुनी रानाले अध्यक्ष प्रचण्डको स्वार्थका कारण पार्टी विभाजनको स्थितिमा पुगेको बताउनुभयो । निर्वाचन गराउने सरकारको कदम उचित भएको र जनताको मत लिनु नै लोकतान्त्रिक अभ्यास भएको चर्चा गर्नुभयो । टीकापुर घटना राजनीतिक घटना भएकाले त्यसलाई त्यहीरुपमा समाधान गर्न उहाँले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभयो ।

“टीकापुर जाति विशेषको घटना होइन, यो राजनीतिक घटना हो, सरकारले पुनरविचार गर्नुपर्छ” सांसद रानाले भन्नुभयो । यो सरकार कमजोर भयो भने पुरै नेपाली जनता कमजोर हुने भन्दै उहाँले प्रधानमन्त्री ओलीलाई देशको पक्षमा यसैगरी काम गर्दै जान आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया