हमार पहुरा डट कम
काठमाडौं, चैत ११ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले टीकापुर घटनाका आरोपित राजबन्दीको रिहाई तथा झुठा मुद्दा खारेजीको माग गर्दै गत आइतबारदेखि शुरु गरेको रिले धर्ना कार्यक्रम आज बुधबार चौथो दिन पनि जारी राखेको छ ।
थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको सो समितिले काठमाडौंको माइतीघरमा धर्ना कार्यक्रम जारी राखेको हो । आजको धर्नामा ४८ जनाको सहभागीता रहेको थियो । महामन्त्री प्रेमीलाल चौधरीकाअनुसार धर्ना कार्यक्रम शुक्रबारसम्म नियमित सञ्चालन हुनेछ ।
थाकसका कार्यबाहक अध्यक्ष कन्नुलाल चौधरीको नेतृत्वमा भइरहेको धर्ना कार्यक्रममा पूर्व सभासद विश्वेन्द्र पासवान, पूर्व सभासद तथा थाकस संगठन विभाग प्रमुख रुक्मिणी चौधरी, थरुहट थारुवान राष्ट्रिय मोर्चाका प्रवक्ता मिनराज चौधरी, थाकस उपाध्यक्ष विष्णु चौधरी, महामन्त्री प्रेमीलाल चौधरी, मोरङका सभापति प्रदीप भगत, कैलालीका सभापति लाहुराम चौधरी, थाकस उपत्यका समितिका सभापति सुमन चौधरी, विद्यार्थी नेता चन्द्रप्रसाद चौधरी, थारु युवा नेता कानुनलाल चौधरी लगायतको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै थाकस उपाध्यक्ष विष्णु चौधरीले टीकापुर घटना षडयन्त्रपूर्वक घटाइएको घटना भएकाले निर्दोस राजबन्दी थारुहरुको तत्काल रिहाईको माग गर्नुभयो । घटनामा आरोपितहरुको मुद्दा खारेज गरी राजनीतिक वातावरण बनाउन उहाँले सरकारसँग माग गर्नुभयो ।
थाकस केन्द्रीय सदस्य जन्जीरप्रसाद चौधरीले सरकारले यसअघि सिके राउत, विप्लब चन्दहरुलाई शान्ति प्रक्रियामा ल्याएर राम्रो काम गरेको स्मरण गर्नुहुँदै टीकापुर घटनामा आरोपितहरुलाई पनि विना शर्त रिहाई गरी शान्ति प्रक्रियालाई थप मजबुत बनाउन सुझाव दिनुभयो । सांसद रेशमलाल चौधरीसहितका राजबन्दीको रिहाई र झुठा मुद्दा खारेजको माग उहाँले गर्नुभयो ।
दिउँसो १ बजेदेखि शुरु हुने धर्ना कार्यक्रम करिब दुई घण्टा चल्ने गरेको थाकसले जनाएको छ । धर्नामा सहभागीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताउँदै थाकसले उपत्यकामा बसोबास गर्ने थारुलाई सहभागीताको अपिल पनि गरेको छ ।