थाकसलाई गृहमन्त्रीको आग्रह ‘वार्ताद्वारा समस्याको समाधान खोजौं’


हमार पहुरा डट कम
काठमाडौं, चैत १२ गते । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले थारु कल्याणकारिणी सभा (थाकस) नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिलाई वार्ता टोली बनाएर बार्ता गर्न आउन आग्रह गर्नुभएको छ । थाकसद्वारा माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रममा विहिबार आफै पुगेर गृहमन्त्री बादलले सो आग्रह गर्नुभयो ।

थाकसका महामन्त्री प्रेमीलाल चौधरीकाअनुसार गृहमन्त्री बादलले वार्ता टोली बनाएर वार्ता गर्न आउन आग्रह गर्नुभयो । “धर्ना बसेर मात्र समस्याको समाधान हुँदैन, धर्ना स्थगित गरेर बार्ता गर्न आउनुस्, समस्याको समाधान त्यहीबाट हुन्छ” गृहमन्त्री बादलले भन्नुभयो ।

यसअघि थाकसले राष्ट्रपति तथा प्रधानमन्त्रीलाई १९ बुँदे मागपत्र बुझाएको थियो । सो मागबारे सरकार सकारात्मक रहेको जानकारी दिनुहुँदै गृहमन्त्री बादलले सरकारको तर्फबाट पनि वार्ता कमिटी गठन गरिने जानकारी दिनुभयो ।

टीकापुर घटनामा संलग्नको आरोपमा सजाय पाइरहेकाहरुको विषयलाई समाधान गर्नेतिर सरकारको ध्यानाकर्षण भएको बताउँदै गृहमन्त्री बादलले मुद्दालाई राजनीति, कानुनी र प्रशासनिक तवरबाट समाधानको प्रयास भइरहेको बताउनुभयो । थाकसको आज पाँचौ दिनको धर्ना कार्यक्रम हो ।

थाकस महामन्त्री प्रेमीलाल चौधरीले गृहमन्त्री आफै धर्नास्थलमा आएर संवाद गर्नु सकारात्मक भएको बताउनुभयो । सरकारले वार्ता टोली गठन गरी वार्ताका लागि आफूहरुलाई पत्राचार गरेमा वार्ताबारे आफूहरु सकारात्मक हुने उहाँले बताउनुभयो । सरकारको पत्र प्राप्त भएमा आफूहरुले पनि वार्ता कमिटी गठन गर्ने उहाँले बताउनुभयो । पत्र प्राप्त नभएसम्म धर्ना कार्यक्रम जारी राख्ने महामन्त्री चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया