हमार पहुरा डट कम
काठमाडौं, चैत १३ गते । सरकारले धर्नामा रहेका थरुहट थारुवान संयुक्त संघर्ष समितिलाई वार्ताको आव्हान गर्दै पत्र पठाएको छ । गृहमन्त्री रामबहादुर थापाको हस्ताक्षरमा वार्ता टोली गठन गरी वार्तामा आउन आव्हानसहितको पत्र शुक्रबार समितिलाई प्राप्त भएको हो ।
थारु कल्याणकारिणी सभा (थाकस) नेतृत्वमा रहेको समितिमा पत्र प्राप्त भएसँग शुक्रबारदेखि धर्ना कार्यक्रम स्थगित गरिएको थाकस संगठन विभाग प्रमुख रुक्मिणी चौधरीले जानकारी दिनुभयो । सरकारले आफूहरुको पहिलो चरणको माग सुनुवाई गरी पत्र पठाएको विषयलाई आफूहरुले सकारात्मक रुपमा लिएको पूर्व सांसद समेत रहनुभएका चौधरीले हमार पहुरा डट कमलाई बताउनुभयो ।
थारु कल्याणकारिणी सभालाई सम्बोधन गरी लेखिएको पत्रमा भनिएको छ, “थारु कल्याणकारिणी सभा थरुहट थारुवान संयुक्त समितिले विभिन्न १९ बुँदे माग राखी धर्ना दिएको प्रति नेपाल सरकार गृहमन्त्रालयको ध्यानाकर्षण भएको छ ।”
जुनसुकै समस्याको समाधान शान्तिपूर्ण वार्ता एवम् छलफलको माध्यम भएको प्रष्ट पार्दै सरकारी पत्रमा लेखिएको छ, “त्यस सभाले उठाएको १९ बुँदे मागहरुका सम्बन्धमा पनि वार्ता एवम् छलफल गरी सहमतिमा पुग्न जारी धर्ना स्थगित गरी वार्तामा आउन हार्दिक आव्हान गर्दछुँ ।”
सरकारको पत्र प्राप्त भएसँग वार्ताका लागि एक वार्ता टोली गठन गर्ने प्रक्रियामा आफूहरु लागेको महामन्त्री प्रेमीलाल चौधरीले जानकारी गराउनुभयो ।