हमार पहुरा डट कम
सुख्खड (कैलाली), वैशाख ७ गते । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले पत्रकारिता पेशा ज्ञानको भण्डार भएकाले थारु समुदाय यस पेशा व्यवसाय अङ्गाल्न आवश्यक रहेको सुझाव दिनुभएको छ ।
हरचाली साहित्यिक त्रैमासिक पत्रिका र थारुनके डट कम, कैलालीको आयोजनामा मंगलबारदेखि सुख्खडमा शुरुभएको आधारभूत पत्रकारिता तालिमको उदघाटन गर्दै नगरप्रमुख चौधरीले सो सुझाव दिनुभयो । सूचनाको भण्डार हुने र पहिलो सूचना प्राप्त पत्रकारले गर्ने हुनाले थारु समुदायले बढीभन्दा बढी पत्रकार उत्पादन गरी समाजलाई सुसुचित गर्नेतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
सूचनामा पहुँच हुन नसक्दा नै थारु समुदाय पछि परेको र अरु टाठाबाठा समुदायले हेप्ने गरेको चर्चा गर्नुहुँदै नगरप्रमुख चौधरीले भन्नुभयो, “सूचनामा पहुँच बनाउन विश्वमा ठूलो संघर्ष चलिरहेको छ, थारु समुदायले पनि सूचनामा आफ्नो सहभागीता बनाउनेमा ध्यान दिनुपर्छ” उहाँले भन्नुभयो ।
पत्रकारिताले समाजको मूल्य मान्यता निर्माण गर्नमा सघाउ पुर्याउने, नीति नियम बनाउन सुझाव र दवावको काम गर्ने हुनाले थारु समुदायको अधिकार सुनिश्चित गर्न र राज्यलाई दवाव दिन पनि थारु समुदायमा पत्रकारिता गर्नेको संख्या बृद्धि हुन आवश्यक रहेको उहाँले बताउनुभयो । तर अहिलेसम्म थारु समुदाय सूचनाबाट निकै टाढा रहेको उहाँले चर्चा गर्नुभयो ।
भाषालाई बलियो नबनाउँदासम्म समुदायको यथोचित प्रगति हुन नसक्ने भन्नुहुँदै नगरप्रमुख चौधरीले सूचनाले मानिसलाई सुसुचित बनाउने र त्यसको प्रवाह गर्नेकाम सञ्चारमाध्यमले गर्ने हुनाले थारु समुदाय त्यसमा ध्यान दिनुपर्ने उहाँले सुझाउनुभयो ।
तालिमका प्रमुख प्रशिक्षक तथा गोरखापत्र दैनिकका उपसम्पादक लक्की चौधरीले सूचना नै ज्ञान र ज्ञान नै मानिसको शक्ति भएकाले सूचनामा पहुँच बढाउने जोकोहीलाई फाइदा पुग्ने बताउनुभयो । पत्रकारिता पेशा चुनौति र अवसर दुवैचिजले भरिएको जानकारी दिंदै प्रशिक्षक चौधरीले समाचार लेख्ने शैली, त्यसको संरचना, नेपालमा पत्रकारिताको ट्रेन्ड, सञ्चार तथा आमसञ्चारका विविध पक्षबारे तालिममा जानकारी प्राप्त हुने बताउनुभयो ।
हरचालिक त्रैमासिक पत्रिकाका सम्पादक सागर कुश्मीले आफू पत्रकारिता पेशामा लाग्दैगर्दा थप थारु पत्रकार उत्पादन गर्ने प्रण गरेकाले तीन दिने आधारभूत पत्रकारिताको पहिलो पटक तालिम आयोजना गरेको जानकारी दिनुभयो । आफूमात्र पत्रकार बनेर भएन, आफूपछि पनि थारु पत्रकार उत्पादन गर्ने धोको छ भन्दै तालिमबाट पत्रकार उत्पादन हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
वैशाख ७ देखि ९ गतेसम्म तीन दिन चल्ने पत्रकारिता तालिममा कैलाली र कञ्चनपुरका गरी २६ जनाको सहभागिता रहेको छ । तालिममा प्रमुख प्रशिक्षक लक्की चौधरी र स्थानीय पत्रकार चाँदनी आचार्यले प्रशिक्षण दिइरहेको आयोजक संस्थाले जनाएको छ ।