कोभिडले ज्यान गुमाएका पत्रकारको परिवारलाई थारु पत्रकार संघको सहयोग


हमार पहुरा डट कम
बुटवल, असार १२ गते । थारु पत्रकार संघ नेपालका पूर्व केन्द्रीय सदस्य कोभिड संक्रमणबाट उपचारकै क्रममा निधन भएका तिलोत्तमा ५ मणिग्राम निवासी पत्रकार हिक्मत चौधरीको परिवारलाई शनिबार थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्य समितिले नगद तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

परिवारमा सहयोग पुग्ने उद्देश्यले घरमै गएर स्व. पत्रकार चौधरीकी धर्मपत्नी उदयदेवी कहार चौधरीलाई संघको आकस्मिक सहयोग आर्थिक सहायता कोषबाट नगद २० हजार रुपियाँ र केही स्वास्थ्य सामाग्री प्रदानगरेको संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष दहितले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष सन्तोष दहित, केन्द्रीय सचिव कमल चौधरी, आकस्मिक सहयोग आर्थिक सहायता कोषमा सहयोग गर्ने दाता लब्लिन क्यानभास, पत्रकार सबि थारु लगायतको उपस्थिति रहेको थियो । थारु पत्रकार संघका रुपन्देही जिल्ला सल्लाहकार समेत रहनुभएका स्व. पत्रकार चौधरीको कोरोना संक्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना बिशेष अस्पतालमा गत जेष्ठ ५ गते बुधबार निधन भएको थियो ।

स्व. चौधरी विभिन्न मिडियामा अवद्ध रहनुभएको थियो । उहाँ थुप्रै समाजिक संघ संस्थामा समेत क्रियाशिल हुनुहुन्थ्यो । उहाँ नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्य समितिका पूर्व सदस्य एवम् आदिवासी जनाजति पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष समेत रहनुभएको थियो ।

स्व.चौधरीका २ छोरा, ४ छोरी र श्रीमती हुनुहुन्छ । साथै थारु पत्रकार संघले एक जुझारु थारु पत्रकार गुमाएकोमा दुःख प्रकट गरेको छ । दुःखको समयमा थारु पत्रकारको आकस्मिक सहयोग आर्थिक सहायता कोषमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई संघले धन्यवाद व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया