टीकापुर घटनालाई राजनीतिक रुपमै समाधान गर्नुपर्छः थारु अगुवाहरु


हमार पहुरा डट कम
काठमाडौं, भदौं ७ गते । थारु समुदायले राजनीतिक अधिकार प्राप्त गर्न शान्तिपूर्ण रुपले दवाव कार्यक्रम गरिरहेकाबेला घटाइएको टीकापुर घटनालाई राजनीतिक घटनाकोरुपमा लिई सबै राजबन्दीको रिहाई र झुठा मुद्दा खारेज गर्न दलका नेता तथा थारु अगुवाहरुले माग गर्नुभएको छ ।

थारु हल्याणकारिणी सभा (थाकस) अन्तर्गत रहेको थरुहट थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिद्वारा सोमबार आयोजित भर्चुवल कार्यक्रममा बोल्दै थारु अगुवाहरुले सो धारणा साख्नुभएको हो । टीकापुर घटना घटेको ६ वर्ष पुगेको स्मरणमा थाकसले “ऐतिहासिक थरुहट थारुवान विद्रोहः टीकापुर घटना र आगामी कार्यदिशा” नामक कार्यक्रम सोमबार आयोजना गरेको हो ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भगवती चौधरीले नीतिको माउ संस्था राजनीति भएकाले थारुको मुद्दा राजनीतिक रुपले समाधान आवश्यक रहेको बताउनुभयो । थारुमाथि सदियौंदेखि राज्यले पक्षपातपूर्ण व्यवहार गर्दैआएको चर्चा गर्नुहुँदै नेता चौधरीले थारुको अधिकार सुनिश्चित नगर्दासम्म मुलुकमा शान्ति आउन नसक्ने दावी गर्नुभयो । देशको चौथो ठूलो जनसंख्यालाई पाखा लगाएर मुलुकको शान्ति सम्भव नभएको चर्चा गर्नुहुँदै उहाँले थारुमाथि भएको अन्यायमा न्याय दिन सरकार र राजनीतिक दलका नेतृत्वसँग माग गर्नुभयो ।

थारु समुदायले अधिकार प्राप्तीको संघर्षमा एक हुन अनिवार्य भएको बताउनुहुँदै पूर्व राज्यमन्त्री चौधरीले राज्यलाई दवाव दिन नसक्दासम्म माग सुनुवाई नहुने बताउनुभयो । विचारमा जुनसुकै पक्षको भएपनि थारुहरु समग्र थारुलाई हेरेर एकतापूर्ण व्यवहार गर्नुपर्छ र त्यसको अगुवाई थाकसले नै गर्नुपर्छ उहाँले सुझाव दिनुभयो । आफूले राजनीतिक रुपमा आफ्नो ठाउँमा थारु समुदायका लागि सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

नेपाली काँग्रेसका नेता तथा सांसद पद्मनारायण चौधरीले थारुको अधिकारका लागि सबैभन्दा बढी थाकसले योगदान दिएकाले त्यसको मूल्याङ्कन गर्न आवश्यक रहेको बताउनुभयो । थाकसलाई राजनीतिक थलोकोरुपमा प्रयोग गर्न नहुने भन्दै उहाँले सामाजिक संस्थाकैरुपमा अगाडि बढाउन आवश्यक रहेको सुभाव दिनुभयो । थाकस थारु समुदायको छाता संगठन भएकाले त्यसकै मातहत रहेर एकतावद्ध आवाज उठाउनुपर्ने उहाँले बताउनुभयो ।

थाकसलाई राजनीतिक प्लेटफर्म बनाइनु हुँदैन, नत्र ठूलो समस्या आइपर्छ नेता चौधरीले भन्नुभयो । थारु समुदायको माग मुद्दा सम्बोधनका लागि गत जेठ १८ गते ६ बुँदे सहमति भएकाले त्यसको कार्यान्वयनमा अव सबै ध्यान केन्द्रित गर्नुपर्ने उहाँले बताउनुभयो । माग सम्बोधन गराउन आफूहरु सक्रियरुपमा लागिपरेकाले माग सम्बोधन हुने उहाँले चर्चा गर्नुभयो । थारु समुदाय तितर वितर भएर संघर्ष गर्दा कुनै उपलब्धी हात नलाग्ने भन्नुहुँदै उहाँले थारु एकता गरी अघि बढ्न सुझाव दिनुभयो । यो मुलुकको राष्ट्रवादी शक्ति भएकाले आफ्नो शक्तिको पहिचान गर्न उहाँले सबैमा आग्रह गर्नुभयो ।

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरीले टीकापुर घटना घुसपैठबाट घटाइएको घटना भएकाले त्यसलाई थारुले जिम्मा नलिने बताउनुभयो । थारु समुदायको उद्देश्य अधिकार प्राप्त गर्ने भएको तर अपराध कार्य गर्ने नरहेको बताउनुहुँदै अध्यक्ष चौधरीले भन्नुभयो, ”थारु समुदायको उद्देश्य अपराध कार्य गर्ने होइन, शान्तिपूर्ण रुपमा अधिकार प्राप्त गर्ने हो ।“ थारु सँगै राज्यबाट पछाडि पारिएका सबै समुदाय वर्ग र जातीय समूहको अधिकार सुनिश्चित हुनुपर्ने उहाँले बताउनुभयो । टीकापुर घटना राजनीतिक घटना भएकाले त्यसलाई राजनीतिक तवरले सम्बोधन गर्न उहाँले माग गर्नुभयो ।

थाकसका संगठन विभाग प्रमुख रुक्मिणी चौधरीले थारु समुदायले फुटको सन्देश दिन उचित नभएको बताउनुभयो । थाकसकै नेतृत्वमा शान्तिपुर्ण र एकतावद्ध संघर्षको कार्यक्रम गर्न सकेमात्र अधिकार सम्बोधन हुने उहाँले चर्चा गर्नुभयो । कार्यक्रममा सहभागी भई थाकसको कार्यक्रमको गरिमा बढाई दिनुभएकोभन्दै उहाँले सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय उपाध्यक्ष पत्रकार लक्की चौधरीले राज्यको मिलेमतोमै थारुमाथि शृङ्खलाबद्धरुपमा दमन हुँदैआएको बताउनुभयो । २०७२ भदौ ७ गते भएको टीकापुर घटना पनि राज्यकै मिलेमतोमा घटाइएको घटना भएको भन्दै उहाँले थारु समुदायमाथि दमन गर्न सो घटना घटाइएको चर्चा गर्नुभयो । संविधान जारी हुनेबेलामा अधिकार माग्दै शान्तिपूर्ण आन्दोलन गर्नु सबै नागरिकको अधिकार भएकाले थारुहरुले पनि त्यही काम गरेको उहाँले बताउनुभयो । तर थारुको अधिकार प्राप्तीको आन्दोलनलाई अपराधिक आन्दोलन बनाउने षडयन्त्र विभिन्न पक्षबाट भएकाले त्यसको दोस थारुलाई गएको उहाँले टिप्पणी गर्नुभयो । टीकापुर घटनालाई राजनीतिक घटनाको रुप दिई थारुलाई न्याय दिनु आवश्यक रहेको उहाँले सुझाउनुभयो ।

नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष जगत बरामले थारुमाथि राज्यले गरेको दमन सिङ्गो आदिबासी जनजातिमाथिको दमन भएकाले त्यसलाई त्यहरुपमा प्रतिवाद गर्ने बताउनुभयो । टीकापुर घटना थारुलाई षडयन्त्रपूर्वक रुपमा फसाउने घटना भएकाले थारुलाई न्याय नदिएसम्म समस्या समाधान नहुने उहाँले बताउनुभयो । नेपालको राजनीतिक इतिहासमा ठूलठूला राजनीतिक विद्रोह र घटना भएको र ती घटनालाई राजनीतिक रुपले निरुपण गर्ने काम भएअनुसार टीकापुर घटनालाई राजनीतिक रुपमा निरुपण गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । थारुलाई न्याय प्राप्त नभए टीकापुरभन्दा ठूलो घटना आगामी दिनमा घटने र त्यसको जिम्मेवार सरकार हुने उहाँले तर्क गर्नुभयो ।

थाकसका कैललाी सभापति लाहुराम चौधरीले थारुको माग मुद्दा सम्बोधन नगरेसम्म मुलुकमा शान्ति नआउने उहाँले बताउनुभयो । थारु स्वाभिमानी र शान्तिकामी समुदाय भए पनि राज्यले विभिन्न षडयन्त्र गरी थारुलाई अपराधीकरण गर्न खोजेको उहाँले बताउनुभयो । टीकापुर घटनाकालाई राजनीतिक मुद्दाकोरुपमा व्यवहार गरी सबै झुठा मुद्दा खारेज गरी अवस्था सामान्य बनाउनुपर्ने उहाँले राज्यसँग माग गर्नुभयो । राज्यले निर्दोष थारुहरुलाई झुठा मुद्दा लगाएर ठूलो अन्याय गरेको र समस्या समाधानभन्दा झन बल्झाउने काम राज्यले नै गरिरहेको उहाँले टिप्पणी गर्नुभयो ।

कार्यक्रममा थाकसका महामन्त्री प्रेमीलाल चौधरीले आज थाकसको शाखा भएको सबै जिल्लामा कार्यक्रम भएको बताउनुभयो । त्यस्तै, थाकस कपिलवस्तुका सचिव राजेश चौधरीले सरकारसँग यसअघि भएको सहमति सम्झौता कार्यान्वयनको अवस्थाबारे जानकारी माग गर्नुभएको थियो । त्यसको जवाफमा बार्ता टोलीका सदस्य पद्मनारायण चौधरीले कार्यान्वयनको पहल भएको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणलाई यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारसँग थाकसको ६ बुँदे सहमति भएको थियो ।

सहभागी भोजराज थारु, बुद्धसेन चौधरी, बेचुराम चौधरी लगायतले थाकसलाई एकतावद्ध बनाएर अघि बढ्न सुझाव दिनुभयो । थारु माग मुद्दा सम्बोधनमा थारु एकता अपरिहार्य रहेको उहाँहरुको सुझाव छ ।

तपाईको प्रतिक्रिया