हमार पहुरा डट कम
काठमाडौं, भदौ २३ गते । आदिबासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले संविधान तथा ऐनद्वारा प्रदत्त आरक्षणको अधिकार प्राप्त गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ । संविधानले छुट्याएको क्लष्टरअनुसार नै आरक्षणको व्यवस्थाका लागि राज्यसँग अझै संघर्ष जारी रहेकाले युवा विद्यार्थी जागरुक हुनुपर्ने उहाँले बताउनुभयो ।
थारु विद्यार्थी समाज (थाविस) केन्द्रीय कार्यसमितिले हालै सम्पन्न गरेको ‘आरक्षण सवालमा जातीय विद्यार्थीको भूमिका’ विषय कार्यक्रममा अध्यक्ष थापामगरले सो कुरा बताउनुभएको हो । आदिबासी जनजातिलाई अझै राज्यले सबै अधिकार प्रदान गर्न कन्जुस्याई गरिरहेकाले राज्यको सबै निकायमा आरक्षणको व्यवस्थाका लागि आदिबासी जनजाति समुदाय नै जागरुक हुन आवश्यक रहेको उहाँले सुझाउनुभयो ।
कार्यक्रममा थारु आयोगका सदस्य डा. उमाशंकर चौधरी, शान्ति मोदी थारु, थारु कल्याणकारिणी सभा (थाकस) का महामन्त्री प्रेमीलाल चौधरीले राज्यको सबै निकायमा समानुपातिक सिद्धान्तका आधारमा आरक्षणको व्यवस्थाका लागि युवा विद्यार्थीहरु पहल गर्नुपर्ने बताउनुभयो । आदिबासी जनजाति विद्यार्थी महासंघ तथा थाविसका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधीको अध्यक्षतामा भएको कार्यक्रममा थाविसका पूर्व केन्द्रीय अध्यक्ष सिएन चौधरी, आदिबासी जनजाति विद्यार्थी संगठनका अगुवा, थारु अगुवा, थारु विद्यार्थीहरुको सहभागिता थियो ।