
हमार पहुरा डट कम
काठमाडौ, मंसिर ८ गते । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचनको लागि तयारी पूरा भएको सो दलले जनाएको छ । एमाले केन्द्रीय कार्यालयस्थित निर्वाचन आयोगको कार्यालयले आन्तरिक तयारी पूरा गरेको जानकारी गराएको हो ।
आयोगले विहीवारदेखि निर्वाचन प्रक्रियाका लागि चितवनको सौराहामा कार्यालय सञ्चालन गर्नेछ । एमालेको ऐतिहासिक अधिवेशनको उद्घाटन समारोह मंसिर १० गते चितवनको नारायणी नदी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको सो दलले जनाएको छ । आयोगले त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम वनाएको छ । सो दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका पनि बनाएको छ भने ११ गते वेलुकी ६ वजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । मंसिर १२ गते मतदान प्रक्रिया हुने निर्वाचन आयोगका अध्यक्ष सुब्बाले बताउनुभयो । निर्वाचनबाट थारु कोटामा ६ जना थारु (४ पुरुष २ महिला) केन्द्रीय सदस्यमा निर्वाचित हुनुहुनेछ । त्यस्तै, खुला र भूगोलबाट पनि थारु प्रतिनिधिलाई केन्द्रीय सदस्य हुने बाटो खुला नै रहेको छ ।
एक सय भोटिङ मेशिनको व्यवस्था
एकसय वटा विद्युतीय मतदान मेशिन (इलेक्ट्रोनिक भोटिङ मेशिन) बाट मतदान गराउने योजना निर्वाचन आयोगको छ । आयोगले ९२ वटा मेशिनहरु निर्वाचनका लागि प्रयोग गर्नेछ । तीन वटा मेशिन नमूना मतदानका लागि आयोगको कार्यालय अगाडि खुला रुपमा राखिने बताइएको छ । ती मेशिनहरु मतदान कसरी गर्ने सिक्नका लागि राखिने छ । पाँच वटा मेशिनहरु जगेडामा राखिने एमालेले जनाएको छ । मतदानका क्रममा कुनै मेशिनमा गडवडी आएमा जगेडाका मेशिनहरु प्रयोग गरिनेछ ।
एक जना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान गरिएको छ । एउटा मेशिनमा करिब २२ जनादेखि ३० जनाले मतदान गर्नेछन् । मतदान सकिएको करिब दुई घण्टाभित्र नतिजा आउने गरी मतगणनाको व्यवस्था गरिने छ । प्रत्येक मेशिनबाट अलग अलग मतगणना गर्ने भएको हुँदा त्यति समय लाग्ने आयोगको भनाई छ । आपसी सञ्जालमा जोडिएको खण्डमा त्योभन्दा चाँडो नतिजा आउनसक्छ ।
५० क्षेत्रमा निर्वाचन हुने
नेकपा एमालेको विधानअनुसार विभिन्न ५० वटा क्लस्टरमा निर्वाचन गर्नुपर्ने हुन्छ । १५ जना पदाधिकारीसहित दुई सय २५ जनाको केन्द्रीय कमिटी हुनेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुनेछन् । त्यसैगरी एमालेले ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चित्ता गरेको छ । एमालेले सकेसम्म सर्वसम्मत केन्द्रीय कमिटी निर्वाचित गरी एकताको सन्देश दिने तयारी गरेको छ । सर्वसम्मत हुन नसकेमा मतदानमा जाने तयारी सो दलले गरेको छ ।
अध्यक्षमा पुनः केपी शर्मा ओली आउने करिब निश्चित रहे पनि उपाध्यक्ष भीमबहादुर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । अहिलेसम्म थारु प्रतिनिधि कसैले पनि पदाधिकारीमा उम्मेदवारी घोषणा गर्नुभएको छैन । केन्द्रीय सदस्यमा खुला, भूगोल र कोटा गरी करिब पन्ध्र जना जति केन्द्रीय सदस्यमा आउने आँकलन थारु नेताहरुले गर्नुभएको छ ।
यसैबीच एमाले स्थायी कमिटीले १०५ जनालाई महाधिवेशन प्रतिनिधिमा सिफारिस गरेको छ । कुल प्रतिनिधिसंख्याको ५ प्रतिशत हुन आउने सो प्रतिनिधिमा तीन जना थारु महाधिवेशन प्रतिनिधिमा मनोनित हुनुभएको छ । जसमा नेताहरु राजकुमार लेखी (सप्तरी), ममताप्रसाद चौधरी (कैलाली) र महेश्वरी चौधरी (उदयपुर) रहनुभएको छ । त्यस्तै, रानाबाट कृपाराम राना (कञ्चनपुर) मनोनित हुनुभएको छ ।
उदघाटनसत्रमा पाँचलाख बढी जनसहभागिता गराइँदै
एमालेले मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा गर्न लागेको महाधिवेशन उदघाटनसत्रमा पाँचलाख बढी जनसहभागिता गराउने बताएको छ । त्यसको सबै तयारी पूरा भएको सो दलले जनाएको छ । १० देखि १२ गतेसम्म हुने महाधिवेशनमा २ हजार ३ सय २७ जना महाधिवेशन प्रतिनिधि चयन भएको एमालेले जनाएको छ । चितवनको सौराहामा हुने बन्दसत्रबाट १५ जना पदाधिकारीसहित २२५ सदस्यीय केन्द्रीय सदस्य र १५ सदस्यीय लेखा आयोग तथा १५ सदस्यीय अनुशासन आयोग कमिटी पनि निर्वाचित हुने सो दलले जनाएको छ ।




