नेता देवकोटाले घोषणा गर्नुभयो भूगोलतर्फ एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी


हमार पहुरा डट कम
काठमाडौं, मंसिर ९ गते । सुदूर पश्चिमका पाका नेता तथा कुशल व्यवस्थापक दीपक देवकोटा नेकपा (एमाले) को दशौं महाधिवेशनमा सुदूरपश्चिम (भूगोल) बाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटी सदस्य समेत रहनुभएका नेता देवकोटा अहिले पनि केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरिरहनुभएको छ ।

२०७५ जेठ ३ गते तत्कालिन नेकपा (एमाले) र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपामा मनोनित ४१ केन्द्रीय सदस्यमध्ये उहाँ पनि मनोनित हुनुभएको हो । यो महाधिवेशनमा आफू भूगोलतर्फबाट केन्द्रीय सदस्यमा रुची राखेर उम्मेदवारी घोषणा गरेको उहाँले बताउनुभयो ।

करिब तीन दशक एमालेमा सक्रिय राजनीति गर्नुभएका ६३ वर्षिय नेता देवकोटा कैलाली धनगढीको स्थायी बासिन्दा हुनुहुन्छ । थारु समुदायलाई निकै माया गर्नुहुने नेता देवकोटा अनवरत पार्टीको पक्षमा योगदान दिनुभए पनि लाभको पद खासै प्राप्त गर्नुभएको छैन । यस पटकको महाधिवेशनबाट आफू भूगोल (सुदूरपश्चिम) बाट केन्द्रीय सदस्यमा निर्वाचित भएमा देशको राजनीति तथा पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न अहम भूमिका निर्वाह गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।

२०३४ सालदेखि शिक्षक संगठनमा आवद्ध भई बामपन्थी राजनीतिमा प्रवेश गर्नुभएका नेता देवकोटा एक कुशल व्यवस्थापक, चुस्त लेखा प्रणालीका लागि दख्खल राख्नुहुन्छ । कैलालीको धनगढीमा पार्टी कार्यालय भवन निर्माणमा महत्वपूर्ण योगदान निर्वाह गर्नुभएका नेता देवकोटालाई केन्द्रीय सदस्य पदमा निर्वाचित गराउनै पर्ने माग सो क्षेत्रका नेता तथा कार्यकर्ताहरुको रहेको छ ।

तपाईको प्रतिक्रिया