नेता लेखीको भूगोल (प्रदेश २) बाट केन्द्रीय सदस्य उम्मेदवारको सम्भावना


हमार पहुरा डट कम
काठमाडौं, मंसिर ९ गते । नेकपा (एमाले) का नेता राजकुमार लेखीले अझै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छैन । दलका शीर्ष नेताहरुसँगको परामर्शपछि मात्र उम्मेदवार बन्ने नबन्ने निर्णय लिने उहाँले बताउनुभयो । उम्मेदवार बन्नैपरे भूगोल (प्रदेश २) बाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने उहाँले बताउनुभयो ।

एमालेको दशौं महाधिवेशन चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुँदैछ । एमालेले २ महिलासहित ६ जना केन्द्रीय सदस्य हुन पाउनेगरी थारु कोटा निर्धारण गरेको छ । तर नेता लेखीले आफू कोटाभित्र उम्मेदवार नबन्ने प्रष्ट पार्नुभयो । लामो समय एमालेमा रहेर राजनीति गर्नुभएका नेता लेखी एमाले परित्याग गरी आफ्नै नेतृत्वको दल पनि खोल्नुभएको थियो । सो पछि राजपामा रहेर पनि राजनीति गर्नुभयो । विभिन्न संघ संस्थाको नेतृत्वमा रहेर नेतृत्व क्षमता निर्माण गर्नुभएका नेता लेखी एमाले विधान महाधिवेशनताका गत असोज १७ गते पुनः एमालेमा फर्किनुभएको थियो ।

एमालेमा प्रवेश पाएसँगै राम्रो जिम्मेवारीमा आउने आँकलनमा पर्नुभएका नेता लेखी दशौं महाधिवेशनबाट कुन पदमा आउनुहुन्छ थारु समुदायको प्रतिक्षाको विषय बनेको छ । उसो त एमालेको विधानले केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशत मनोनित गर्ने व्यवस्था पनि गरेको छ । महाधिवेशनबाट छनौटमा पर्न नसकेका केही व्यक्तित्वहरुलाई केन्द्रीय कमिटीको बैठकले मनोनित गर्नेछ । नेता लेखी महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेदवार बन्नु भएन भने मनोनितमा पर्ने सम्भावना पनि प्रवल छ ।

यसअघि नेता लेखी नेपाल आदिबासी जनजाति महासंघको अध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । त्यस्तै थारु कल्याणकारिणी सभाको महामन्त्री भएर पनि जिम्मेवारी निर्वाह गर्नुभएको छ । सप्तरी निवासी नेता लेखी लामो समय थारु आन्दोलनको अगुवाई गरेर थारु नेताको पहिचान पनि बनाउनुभएको छ ।

तपाईको प्रतिक्रिया