
हमार पहुरा डट कम
काठमाडौं, मंसिर १३ गते । नेकपा (एमाले) को चितवनमा जारी दशौं महाधिवेशनबाट ११ जना थारु केन्द्रीय सदस्य पदमा निर्वाचित हुँदैछन् । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित सूचीअनुसार ६ जना थारु केन्द्रीय सदस्यमा सोमबार नै निर्विरोध निर्वाचित हुनुभयो भने पाँच जना मंगलबारको मतदानबाट चयन हुनुहुनेछ ।
सोमबार निर्विरोध निर्वाचित हुनुहुने केन्द्रीय सदस्यहरुमा भगवती चौधरी र शान्ता चौधरी महिला खुलाबाट निर्वाचित हुनुभएको छ । त्यस्तै, राजकुमार लेखी प्रदेश २ भुगोलबाट निर्विरोध निर्वाचित हुनुभयो । सोहीअनुसार थारु महिलातर्फ सरस्वती चौधरीले उम्मेदवारी फिर्ता लिनुभएपछि दुईजना थारु महिला गंगा चौधरी सत्गौंवा र मञ्जुकुमारी चौधरी केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनुभयो ।
त्यस्तै सुदूरपश्चिम प्रदेश खुला कोटाबाट नारदमुनी राना निर्वाचित हुनुभएको छ । सोहीअनुसार अनुशासन आयोगको सदस्यमा तुलसीप्रसाद चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ ।
थारु कोटा पुरुषबाट केन्द्रीय सदस्यमा बैजनाथ चौधरी, गौरीशंकर चौधरी, नरुलाल चौधरी, बलवीर चौधरी, कृपाराम राना र जयप्रकाश चौधरीको उम्मेदवारी परेको छ । पाँच जनाको पदमा ६ जनाको उम्मेदवारी परेपछि मंगलबार विहान २ बजेदखि ८ बजेसम्म हुने निर्वाचनबाट पाँच जना निर्वाचित हुनुहुनेछ ।




