कपिलबस्तुमा चौथो बाणगंगा नगरस्तरीय माघी महोत्सव २०७८ को तयारी


कमल चौधरी
कपिलवस्तु, पुस ३ गते । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगरस्तरीय माघी महोत्सव हुनेभएको छ । विशेषगरी नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल थारु समुदायको महान पर्व माघी महोत्सवलाई निरन्तरता दिन महोत्सव तयारी गरिएको थारु कल्याणकारी सभा कपिलवस्तुका सभापति उमाशंकर थारुले बताउनुभयो ।

थारु समुदायको नव वर्ष माघीलाई निरन्तरता दिन माघ २, ३ र ४ गते चौथो बाणगंगा नगरस्तरीय माघी महोत्सव हुन लागेको उहाँले बताउनुभयो । त्यस्तै नगरस्तरीय माघी महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ ।

शनिबार थारु अगुवा, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकारलगायतको बृहत भेलाले यस बर्ष बाणगंगा–९ स्थित कपिलधाम स्थलमा माघी महोत्सव मनाउने निर्णय भएको थारु कल्यणकारी नगर अध्यक्ष भग्गुप्रसाद थारुले बताउनुभयो । त्यस्तै नगर अध्यक्ष थारुको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

१३ वटा विभिन्न उपसमिति समेत गठन गरिएको छ । आर्थिक र सचिवालय व्यवस्थापन समितिको संयोजकमा भग्गुप्रसाद थारु रहनुभएको छ । माघी संस्कृति व्यवस्थापन समितिको संयोजकमा ऋषिराम थारु, मंञ्च र भान्सा व्यवस्थापन समितिको संयोजकमा नुमलाल थारु, झाँकी तथा अतिथि व्यवस्थापन समितिको संयोजकमा गोविन्दी थारु, स्वंयसेवक तथा सुरक्षा व्यवस्थापन समितिको संयोजकमा नाथु थारु (मोर्मी), चयन हुनुभएको छ ।

सोहीअनुसार प्रचार–प्रसार व्यवस्थापन समितिको संयोजकमा तुल्सीराम थारु, संचार तथा मिडिया व्यवस्थापन समितिको संयोजकमा कमल चौधरी, पार्किङ्ग व्यवस्थापन समितिमा सन्तोष थारु, रक्तदान कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा नाथुराम थारु (चप्परगाउँ), जेष्ठ नागरिक सम्मान व्यवस्थापन समितिको संयोजकमा श्रीराम थारु लगायत समितिमा रहनुभएको छ ।

त्यस्तै महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार कक्ष रहनेछन् । महोत्सवमा थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिनेछ । साथै महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् ।

महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने संस्कृतिक समितिका संयोजक ऋषिराम थारुले बताउनुभयो । त्यस्तै माघी पर्वको पूर्वसन्ध्यमा माघ २ गते बृहत रक्तदान कार्यक्रमको अयोेजना समेत गरिने भएको छ । माघी महोत्सवमा यस बर्ष बयोबृद्धहरुलाई सम्मान कार्यक्रमको अयोजना गरिने अध्यक्ष भग्गुप्रसाद थारुले जनकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया