थारु समुदायले मनाउने विशेष पर्व हो ‘माघ’ । उच्चारण गर्दा यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ भनिन्छ । पूर्वका थारुले ‘तिला सङ्क्राइत’ भन्छन् भने बीच (कपिलवस्तु–चितवन) का थारुले खिचरा भनी सम्बोधन गर्छन् । दाङ पश्चिमका थारु समुदायले माघ भन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईको जिल्लामा थारुहरुको बसोबास छ । त्यहीभएर ठाउँअनुसार यो पर्वको नाम फरक भएको हो । यद्यपि माघे सङ्क्रान्तिको नामले सबै नेपाली समुदायले यस पर्वलाई माघ १ गते मनाउने प्रचलन रहँदैआएको छ । बाह्र महिनामध्ये एउटा महिना माघ हो । माघ महिनाको नामबाटै यो पर्वको नाम ‘माघ’ रहन गएको हो । यद्यपि पछि यसलाई ‘माघी’ को नामले सम्बोधन गर्न थालियो । विशेषगरी थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) ले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउन शुरु गरेपछि माघलाई माघी भनियो । पश्चिमका थारुले यो पर्वलाई माघको रुपमा मनाउँछन् । तर पूर्वका थारु र काठमाडौं उपत्यकामा कामविशेषले बसोबास गर्ने थारुहरुले साझा पर्वकोरुपमा माघलाई ‘माघी’को रुपमा मनाउँदैआएका छन् । उच्चारण जे गरिए पनि भन्न खोजेको ‘माघ’ नै हो । पश्चिमा थारुले यसलाई विशेष पर्व (नयाँ वर्ष) को रुपमा मनाउँछन् ।
स्वतन्त्र विश्वकोष, नेपाली विकिपिडियाले ‘माघी’ सम्बोधन गरेको छ । लेखिएको छ, “माघी नेपालमा बसोबास गर्ने थारु समुदायले मनाउने प्रमुख चाड हो । माघीलाई थारुहरुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रुपमा लिइन्छ ।” माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन थारु गाउँमा सुँगुर काट्ने प्रचलन छ । जसलाई थारुमा ‘जिता मर्ना’ भनिन्छ । सुँगुरको मासुसँग थारु परिकार ढिक्री, माछा, घोङ्घी, सिपी, गँगटा, अनदीको भात, मुरही, जाँर रक्सी परिकार खाने प्रचलन छ । पुसको अन्तिम दिन रातभरी थारुहरु जाग्राम बस्छन् । त्यसरात दफुको साथमा ‘धमार, धुमरु’ गीत गाउँछन् । भाले नबास्दासम्म गाइने सो गीतमा थारु इतिहास, रहनसहन, खेतबारी गर्ने चेतनामूलक गीत सिर्जाइएको हुन्छ । गीत सबै मौखिक हुन्छ । थारु अगुवाहरुले गीतलाई कण्ठस्थ पारेका हुन्छन् । अर्थात् उनीहरु धमार गीत रचना गर्न भेउ जान्दछन् । रातभरी जाग्राम बसी गीत गाउने गायकहरुको सत्कारका लागि जाँर रक्सी र खानपानको व्यवस्था गरिएको हुन्छ । जाग्राम बसी गीत गाउनेलाई थारु गाउँमा विशेष सम्मान र आतिथ्यता प्रदान गर्ने चलन छ ।
के हो माघ लहान
माघ १ गतेलाई पवित्र दिनको रुपमा हेरिन्छ । सुँगुर, बँगुर, हाँस, कुखुराको मासु खाने दिन पुस अन्तिम दिन हो । भोलिपल्ट अर्थात् माघ १ गते परम्परागत बाजागाजासहित सामुहिकरुपमा जलासयमा गई स्नान गर्ने गरिन्छ । जसलाई थारुहरुले ‘माघ लहान’ भन्छन् । नुहाउने कर्मलाई थारु भाषामा ‘लहैना’ भनिन्छ । त्यसैबाट माघ लहान भएको हो । यसदिन जलदेवतासँग पानी खरिद गरेर थारुहरु स्नान गर्छन् । एक हातले नाक समातेर डुबुल्की मार्छन् । डुबुल्कीसँगै पानीभित्र सिक्का छाड्छन् । जलदेवतासँग पानी खरिद गरेर नुहाउँदा वर्षभर जानअन्जानमा गरिएका गल्ती (पापकर्म) पखालिन्छ, नष्टहुन्छ भन्ने विश्वास छ । नुहाउन जाँदा बाटोभरी धमार गीत गाउने, मघौटा नाच नाच्ने चलन छ । जसको नेतृत्व घरमुलीले गर्छन् । गाउँभरीका सदस्यहरु सामुहिकरुपमा जलासयमा रमाइलो गर्दै जाने र नुहाउने गर्छन् । यो परम्पराले सामुहिकताको विकास गरेको छ । सहयोगको भावनाको विकास गरेको छ ।
ढोग आशीर्वाद
उसो त घरका ज्येष्ठ सदस्य तथा आफन्तबाट लामो समयपछि भेट हुँदा सम्मान स्वरुप ढोग गर्ने र आशीर्वाद लिने प्रचलन प्रायः धेरै समुदायमा छ । थारु समुदायमा पनि विद्यमान छ । तथापि गाउँघरका सदस्यहरुले काम विशेषले देश बाहिर, गाउँ बाहिर रहँदा वर्ष दिनपछि घरमा जम्मा हुने र माघ १ गते चोखो पानीमा स्नानगरी ठूलालाई ढोग गरी आशीर्वाद लिनुमा छुट्टै मजा छ । यसले ठूलालाई सम्मान दिन्छ र दीर्घायू तथा सुखी जीवनको मनग्य आशीर्वाद पनि प्राप्त हुन्छ । त्यसैले ढोग आशीर्वादले एक अर्कालाई जोडेको छ । ठूलाको सम्मान र सानाको माया यसमा अन्तरनीहित छ । यसले व्यक्ति–व्यक्तिलाई मात्र जोड्ने होइन, समाज र देशलाई नै जोडेको छ । व्यक्तिको मनमा शान्ति भएपछि समाज गाउँमा शान्ति कायम हुन्छ । समाजमा शान्ति भएमा देशभर शान्ति हुन्छ र अहिंसारुपी समाजको सिर्जना हुनजान्छ । त्यसैले ढोग आशीर्वादको महत्व बढी छ ।
थारुहरुले माघ १ गते स्नान गरेपछि ठूलाको आशीर्वादका लागि चामल, नुन, दाललाई साक्षी राख्छन् । घरको देवता कोठा (दिहुरार) मा गुन्द्रीमा अलग–अलग ती सामान राखिएका हुन्छन् । स्नान गरेर घरमा आएपछि पहिले घरका सदस्यले ती चामल, नुन र दाललाई पाँच–पाँच अञ्जुली अलग भाँडामा राख्छन् । त्यसपछि मात्र आफूभन्दा ठूलाको आशीर्वाद थाप्छन् । थारुहरुले नुहाएर चोखो भएपछि सगुनको रुपमा ती चिजलाई छोएपछि अभिभावकको आशीर्वाद लिन्छन् । नजिकमा मठ मन्दिर वा देवालय भएका गाउँका सदस्यले चोखो मनले भगवानको पूजा गर्छन् । ढोग आशीर्वादमा अभिभावकले वर्षभरका लागि सुख, शान्ति, प्रगतिको आशीर्वाद प्रदान गर्छन् । घरका सदस्यले गाउँका सबै अभिभावककहाँ गएर आशीर्वाद लिने प्रचलन छ । यो प्रचलनले गाउँका सदस्यबीच एकअर्कासँग सम्बन्ध प्रगाढ बनाउने भूमिका खेल्छ । ढोग आशीर्वाद पछिमात्र सामुहिक खानपिन गरिन्छ । सुख दुःखका कुरा पनि साटासाट हुनेगर्छ ।
चेलीबेटीलाई निसराउ
माघ १ गते थारुहरुले विवाहित चेलीबेटीलाई विशेष उपहार दिन्छन् । यसलाई थारु भाषामा ‘निसराउ’ भनिन्छ । नुहाएर घर आएपछि घरमा सगुनको रुपमा छोएको चामल, नुन र दाल नै निसराउ हो । त्यसमा थपेर चेलीबेटीलाई उपहार स्वरुप प्रदान गरिन्छ । आजभोलि थारुहरुमा नगदसहित निसराउ दिने प्रचलन बढेको छ । माघी पर्वमा विवाहित चेलीलाई अनिवार्य माइत बोलाइन्छ । माइत आएका चेलीहरु फर्कनेबेलामा निसराउ लिएर फर्किन्छन् । कुनै कारणबस माइत आउन नपाएका चेलीलाई घरका सदस्यले निसराउ दिन चेलीबेटीको घरमा जान्छन् । निसराउ दिने प्रचलनले घरका सदस्य र विवाहित चेलीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । नाता कुटुम्बलाई जोड्ने काम गर्छ । त्यसैले निसराउ (उपहार) दिने चलनलाई महत्वकासाथ हेरिन्छ ।
सम्बन्ध जोड्ने पर्व
माघी पर्वले एक अर्काबीच भएको तिक्तता हटाउँछ । काम गर्ने सिलसिलामा कसैसँग रिइस्बी भएको छ भने माघ १ गते जलासयमा स्नान गरी एकापसमा अङ्कमाल गर्नाले वर्षभरको रिसइबी हट्ने र नयाँ सम्बन्ध कायम हुने विश्वास गरिन्छ । चोखो पानीमा स्नान गर्नाले शरीरको रोग, विमार हट्ने र वर्षभरको पाप पखालिने विश्वास गरिन्छ । त्यसैले माघ पर्वलाई मेलमिलापको पर्व भनिन्छ । एकअर्कालाई ढोग आशीर्वाद लिने प्रचलनलाई थारुहरुले ‘सेवा सलाम लग्ना’ भन्छन् । यसोगर्दा गाउँका सदस्यबीच एकता, मित्रता र आपसी सहयोगको भावनामा बृद्धि हुनजान्छ ।
नयाँ वर्ष
थारु सम्बत्अनुसार यो माघ २६४५ औं हो । माघ पर्वलाई थारुहरुले नयाँ वर्षको रुपमा मनाउँछन् । कारण– पुस मसान्तसम्म आफ्नो लेनदेन, हरहिसाव गर्छन् । माघ १ गतेदेखि नयाँ खाता सुचारु गर्छन् । वर्षदिन गरेको कामको लेखाजोखा, हिसाव मिलान तथा गाउँको काम गर्नका लागि नियुक्त गरिएकाहरुको पारिश्रमिक दिने गर्छन् । माघ १ गतेदेखि नयाँ नियुक्ती गर्छन् । गाउँ सञ्चालन गर्न बरघर, गुरुवा, चिरक्या, घरमुली, अघारी, चौकीदार, कुलापानी गर्ने व्यक्ति, फलामको काम गर्ने व्यक्ति, गोठालो आदिको नयाँ नियुक्ती गरिन्छ । जवान भएका छोराछोरीको विवाहको काम पनि माघ महिनाबाटै शुरु गरिन्छ । वर्षदिनका लागि नयाँ योजना बनाउने र त्यसको कार्यान्वयनका लागि जिम्मेवारी सुम्पने काम हुने भएकाले थारुहरुले यस पर्वलाई नयाँ वर्षको रुपमा लिन्छन् ।
अन्त्यमा, थारुहरुले माघी पर्वका लागि महिना दिनसम्म तयारी गर्छन् । खाने चामलदेखि, पैसाको जोहो, ढिक्री लगायतका परिकार बनाउने सामग्री, तेल, नुन, खुर्सानी सबै चिजको जोहो गर्छन् । मासुका लागि सुँगुर बँगुर खोज्नेदेखि खोलामा गएर माछा मार्ने, घोङ्घी, गँगटा, सीपी खोज्नेसम्मको तयारी गर्न महिना दिनको समय चाहिन्छ । अहिले जिल्लामा माघी महोत्सव, खिचरा महोत्सव, तिला सङ्क्राइत महोत्सव गर्ने प्रचलन छ । यसले थारु समुदायको कला संस्कृतिको जगेर्ना गरेको छ । अर्कोतर्फ आफ्नै घरमा उत्पादित् परिकार विक्री गरेर आम्दानी पनि भएको छ । माघ पर्वको बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रचार प्रसारले पर्यटन क्षेत्रको प्रवद्र्धनमा पनि सहयोग पुगेको छ । यो पर्वमा विशेषगरी मघौटा नाच, छोक्रा, हुरदङ्ग्वा नाचिन्छ । थारुहरुले पुसको अन्तिम दिन जिता मार्ने, माघ १ गते लहान गर्ने, २ गते खिचडी भात खाने र साताभर रामरमाइलो गर्छन् ।