थारु संस्कृति संरक्षणमा सक्रिय योगदान दिने थारु बरघरहरुलाई सम्मान


रामअवतार चौधरी
कपिलवस्तु, माघ ४ गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा थारु समुदायको अस्तित्व जोगाउन सक्रिय भूमिका खेल्नुहुने थारु बरघर तथा अगुवालाई सम्मान गरिएको छ । गाउँपालिकाको आयोजनामा थारु समुदायमा मनाइने माघी पर्व कोभिड १९ का कारण मनाउन नपाए पनि आइतबार माघीमिलन थारु संस्कृति संरक्षण तथा शुभकामना अदान प्रदान र बरघर (अगुवाहरु) लाई सम्मान गरिएको हो ।

माघी मिलन कार्यक्रममा थारु समुदायका विजयनगर गाउँपालिका भित्र रहेका थारु गाउँका बरघर, समाजसेवी, बुद्धिजिवि, बृद्बबृद्धा लगायत २० जनालाई दोसल्ला ओढाई गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा र उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले सम्मान गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष थापामगरले कार्यक्रमलाई सम्बोधन गर्दै थारु समुदायको संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस बर्ष गाउँपालिकाको वडा न १ मा गाउँपालिका स्तरीय प्रथम माघी (खिचडी) महोत्सव लगाउने पुर्ण रूपमा तयारी भएपनि कोभिडको कारणले जिल्ला प्रशासनको निर्देशनमा महोत्सव स्थगित गरिएको बताउनुभयो ।

विशेषगरी पछिल्लो समय नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल थारु समुदायले महान पर्व माघीलाई निरन्तरता दिँदैआएको समेत उहाँले बताउनुभयो । विगतका बर्षजस्तै यस बर्ष कोभिडले प्रभावित भएको र महोत्सव गर्न नसके पनि यस बर्ष माघीलाई पुनः निरन्तरता दिदैँ माघी मिलन थारु संस्कृति संरक्षण तथा शुभकामना आदनप्रदान र विजयनगर गाउँपालिका भित्र रहेका थारु गाउँका बड्घर लाई सम्मान कार्यक्रम आयोजना गरिएको अध्यक्ष थापामगरले बताउनुभयो ।

त्यसैगरी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले थारु समुदायमा माघ महिनामा मनाउने माघी पर्वलाई थारु जातिले नयाँ बर्षको रुपमा मनाउँदै आएको बताउनुभयो । थारु जतिको मुख्य पर्व माघी रहेको चर्चा गर्नुहुँदै यसको महत्वबारेमा चर्चा हुनुपर्ने बताउनुभयो । थारु जतिले आफ्नो पहिचान बोकेको महान पर्व माघीलाई विशेष स्थानअनुसार माघ, माघी, माघे संक्रान्ति, माघी दिवानी, खिचडी भन्ने प्रचलन रहेको उहाँले चर्चा गर्नुभयो ।

यस पर्वमा मघौता गीत झुमरा, झररा, सजनी बिरहनी, मयुर लगायत विभिन्न नाचहरु नाच्ने पर्व रहेको र आफूभन्दा ठूलालाई ढोगभेट गर्ने माघीका लागि बनाइएको मिठो परिकार खाने प्रचलन रहिआएको समेत उहाँले बताउनुभयो । थारु समुदायमा गाउँभरिका व्यक्तिहरु भेला गराइ नेतृत्वकर्ता बरघर चयन गरि सम्मान गरिने र विजयनगर गाउँपालिका भित्र रहेको प्रत्येक थारु गाउँमा बरघरहरु रहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया