आफ्नै सीप र मेहनतले फेरियो सञ्जय थारुको स्वदेशमै जीवन


रामअवतार चौधरी
कपिलवस्तु, फागुन १ गते । मानिस जन्मदेखि मृत्युसम्म अनेकौं अनुभव लिएको हुन्छ । अनुभवले जो कसैको जीवनयापनको मार्ग फराकिलो बनाउँछ । असल मार्गनिर्देशन हरेक मानवका लागि अपरिहार्य छ । अनुभव र सीपले सबैको जीवनशैलीमा फरकपन ल्याउनुका साथै अगाडि बढ्ने मार्ग प्रशस्त गर्छ ।

मानव नौलो कुराको अनुभव लिन उत्तिकै उत्सुक हुन्छ । सबेरै उठेदेखि नै आफ्नो दैनिकी क्रियाकलापमा व्यस्त हुन्छ । समय परिस्थितिअनुसार मानिस वा समाज परिवर्तन हुनु स्वाभाविक नै हो । मानव जाति आफ्नो दैनिकी वा जीवनचक्र चलायमान गराउन व्यवसायिक पेशा गर्नु उत्तम मानिन्छ ।

नेपालमा रोजगारी छैन् भन्दै प्रायः युवा खाडीमुलुक जाने योजना बनाउँछन् । तर गरे नेपालमै हुन्छ भन्ने धेरैलाई लाग्दैन । विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने विरलै युवा भेट्टिन्छन् । लामो समयदेखि विदेश हुँदै स्वदेशमा समेत अरुले दिएको पीडा पन्छाएर व्यवसाय गरेर सफल भएका उदाहरण यही तमाम भेटिन्छ ।

विगत केही वर्ष पहिले आफ्नै व्यवसाय गर्ने भन्दै कपिलवस्तुका २९ वर्षिय युवा सन्जय थारुले संग्रिला विकास बैंकबाट २५ लाख ऋण लिनुभयो । २०७६ जेठमा जिल्लाको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा प्रतिक्षा अटो ग्यारेजको नाममा उहाँले पसल सञ्चालन गर्नुभयो ।

बुद्धभुमी नगरपालिका ४, गेलवार घर भएका उहाँ ४ वर्ष भारतमा गएर एक ग्यारेजमा कार बनाउन सिक्नुभयो । त्यहाँबाट तितामिठा अनुभवसँगै केही गोजी खर्च लिएर घर फर्किनुभयो । केही समय घरमा बसेपछि लगत्तै थारुले बुटवलमा पुनः ग्यारेजमै कार बनाउने कामको शुरु गर्नुभयो । करिब ५ बर्ष बुटवलमा रहेको कपिलवस्तु अटो लाइन्समा कार्यरत रही चार पाङ्ग्रे सानो गाडीको इन्जिन बनाउन उहाँ दक्ष बन्नुभयो ।

२०७० सालमा छिमेकी गाउँ चङघाट घर भएकी पिंकी थारुसँग विवाह गर्नुभयो । विवाहपश्चात् लगत्तै जितपुर चार नम्बरमा अवस्थित उत्तम अटो वर्कशपमा करिब ३ बर्ष काम गर्नुभयो । २०७३ सालमा फेरि चन्द्रौटाको बन्कट्टीमा रहेको अभी अटो भिलेजमा लगभग डेढ वर्ष काम गर्नुभयो । यी कामले उहाँ झन खारिनुभयो ।

आफ्नो अनुभव र सीपका कारण अहिले आफ्नै ग्यारेज सञ्चालन गरेर आफै मालिक भएर काम गर्नुको आन्नद बैग्लै भएको ग्यारेज सञ्चालक थारु बताउँनुहुन्छ । हाल चार पाङ्ग्रे गाडीमध्ये कार मात्रै बनाउने गर्नुभएको छ । हाल सन्जयसँग ग्यारेजमा ७ जना कामदार छन् । महंगो गाडीमा खुट्टामा धुलो समेत नलाग्ने उच्च लवाइ खवाई भएका नागरिकलाई सेवा गरेर निश्चित रकम प्राप्त गरिरहनुभएको छ । उहाँको लगनशीलता र मेहनतले आज उहाँ आफ्नो मालिक बन्न सफल हुनुभएको छ ।

धेरै दुःख गरेर सीप सिकेँ अहिले मसँग सात जना कामदार छन्, अरुको काम गर्नु र आफै मालिक भएर काम गर्नुको अनुभुती बेग्लै हुन्छ उहाँले भन्नुभयो । अब बिस्तारै ग्यारेज बढाउने सोेंचमा रहेको उहाँको भनाई छ । दुई सन्तान सहित घरमा ११ जना परिवार पाल्दै आउनुभएका थारुले घरको काम गर्दै आफ्नो व्यवसाय चलाउन पाउँदा आनन्द अनुभूति भइरहेको बताउनुभयो ।

परिवारसँग बसेर पेशा गरेको देख्दा कति मानिसले तारिफ समेत गर्नेगरेको उहाँको बुझाई छ । व्यवसायबाट करिब मासिक साढे तीन लाख रुपियाँ आम्दानी हुनेगरेको थारुले बताउनुभयो । आफूलाई घर परिवारको राम्रो साथ सहयोग रहेको उहाँको भनाई छ । पेशा र आम्दानीले घरपरिवार लगायत दैनिकी कारोबार गर्न सहज हुनुको साथै सन्तुष्ट भएको थारुले बताउनुभयो । आफूसँग सीप र जाँगर छ भने स्वदेशमै मनग्य आम्दानी गर्न सकिने उहाँले युवाहरुलाई सुझाव दिनुभएको छ ।

तपाईको प्रतिक्रिया