श्रीमान् लप्टनको हत्या गरेको आरोपमा उमादेवी चौधरी पक्राउ


हमार पहुरा डट कम
दाङ, फागुन ७ गते। दाङको राप्ती गाउँपालिका ३ वसन्तपुर बस्ने लप्टन चौधरीको हत्या गरेको आरोपमा उहाँको श्रीमती उमादेवी चौधरी पक्राउ परेकि छिन् । ५४ वर्षे लप्टनको हत्या अर्का पुरुष हनुमान चौधरीको सहयोगमा गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । श्रीमान् र श्रीमतीबीच लामो समयदेखि सम्बन्ध राम्रो नभएको प्रहरीको भनाई छ ।

राप्ती गाउँपालिका ३ मसुरियाका हनुमान चौधरी र उमादेवीबीच अवैध सम्बन्ध रहेको स्थानीयको भनाई रहेको प्रहरीले बताएको छ । श्रीमान र श्रीमतीबीच झगडा हुँदा लप्टनले श्रीमती उमादेवीलाई कुटपिट गरेको खवर उमादेवीले हनुमान चौधरीलाई खवर गर्नेगरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

गत माघ २९ गते पनि लप्टन र उमादेवीबीच झगडा भएको स्थानीयको भनाई छ । झगडा भएपछि लप्टनले श्रीमती उमादेवीलाई मार्ने धम्की दिएको खवर श्रीमती उमादेवीले हनुमान चौधरीलाई गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही रिसले हनुमान र उमादेवीबीच लप्टनलाई मार्ने योजना बनेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालकाअनुसार हनुमान चौधरी लप्टनको घरमा राती १० बजे आएर सुतेकाबेला लप्टनमाथि प्रहार गरी घाइते बनाएर घाँटी थिचेर हत्या गरेको देखिएकोछ । लप्टन चौधरी नसामा परेर सुतिरहेकाबेला हनुमानले छात्तीमा प्रहार गरी घाइते बनाएर घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको रिजालको भनाई छ ।

प्रहरी नावय उपरीक्षक रिजालकाअनुसार लप्टनको हत्या गरेर हनुमानले बोकेर शव राप्ती नदीको किनारमा लगेर फालेका थिए । लप्टनका श्रीमती उमादेवीले फागुन ५ गते श्रीमान हराएको भन्दै प्रहरीमा उजुरी दिएको प्रहरीको भनाई छ । फागुन १ गते आफ्नो श्रीमान काम गर्न गढवा गाउँपालिका गएको र घर नफर्केको भन्दै श्रीमती उमादेवीले प्रहरी समक्ष निवेदन दिएको रिजालले बताउनुभयो । लप्टनको खोजतलासका क्रममा उहाँको शव प्रहरीले गत विहिबार साँझ गढवा गाउँपालिका २ कोठरीस्थित राप्ती नदी किनारमा फेला पारेको जनाएको छ ।

उमादेवीले सो शव आफ्नो श्रीमानको भएको बताएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टको कमाण्ड टोलीले अनुसन्धानका क्रममा उमादेवी र हनुमान चौधरी मिली हत्या गरेको तथ्य फेला पारेको बताएको छ ।

प्रहरीले हत्या आरोपमा उमादेवी र हनुमान दुबै जानालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताएको छ । उनीहरुबीचमा अबैध सम्बन्ध रहे नरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सबै तथ्य अनुसन्धान पछि खुल्ने जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नावय उपरीक्षक रिजालले जानकारी दिनुभयो। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया