रामपुर गाउँको पहिलो भलमन्सामा महिला, गाउँ सुधार गर्ने प्रतिवद्धता


गीता चौधरी
रामपुर (कैलाली), फागुन २० गते । धनगढी उपमहानगरपालिका १६ रामपुर गाउँको भलमन्सा (बरघर) मा पहिलो पटक महिला नेतृत्वमा आउनुभएको छ । सो गाउँको बरघरान घर अन्तर्गतको बलमपुरान घरकी भोजलीदेवी चौधरी (राजवंशी कुश्मी) भलमन्साको जिम्मेवारीमा आउनुभएको हो ।

यसअघि पुरुषमात्र भलमन्सा हुने गरेपनि फागुन १४ गते भएको गाउँको भेलाले उहाँलाई तीन वर्षका लागि भलमन्सा छनौट गरेको भलमन्सा चौधरीले जानकारी दिनुभयो । उहाँकाअनुसार यसअघिसम्म पुरुषहरुले मात्र गाउँको नेतृत्व गर्दैआएका थिए, महिलाले पनि नेतृत्व लिनुपर्छ भन्ने गाउँका दिदीवहिनी, अग्रजहरुको सुझावअनुसार उहाँ नेतृत्वमा आउनुभयो ।

रामपुर गाउँमा ९३ घरधुरी थारु समुदायको छ । थारु र गैरथारु (पहाडी) गरी कुल करिब एक सय पचास घरधुरी रहेको सो गाउँको भलमन्साको जिम्मेवारी निर्वाह गरेबापत पारिश्रमिक रुपमा घरैपिच्छे एक मन धान, अह्रैया चामल उपलब्ध गराउने प्रचलन छ । गाउँको नेतृत्वमा आएपछि वडा कार्यालयले एक थान साइकल र एक सेट मोबाइल उपलब्ध गराएको चौधरीले बताउनुभयो । गाउँको काम गर्न सहज होस् र सञ्चार गर्न सहज होस्् भनेर वडा कार्यालयले सो सामग्री उपलब्ध गराएको उहाँको बुझाई छ ।

भलमन्सा नेतृत्वमा काम गरेबापत गैरथारुले पनि इच्छाअनुसार पाँच देखि २० केजीसम्म चामल उपलब्ध गराउनेगरेको गाउँबासीको भनाई छ । गाउँमा दुःखपर्दा, सामुहिक कार्यमा गैरथारुले पनि सहयोग गर्नेगरेकाले गाउँमा एकता रहेको भलमन्सिनिया चौधरीको बुझाई छ । गाउँमा एकता भएमा विकास निर्माण र विकृति विसंगति अन्त्य गर्नमा पनि सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गाउँको नेतृत्वमा रहँदा सुधार र विकासको काम गर्न अनेक चुनौति रहेपनि महिला, पुरुष, युवा, गैरथारु सबैको सल्लाह, परामर्शले आफूले काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । गाउँमा अनेक विकृति विसंगति रहेको र महिलाहरु पुरुषबाट पीडित रहेका अवस्थामा सुधारको काम गर्न चुनौति रहे पनि आफू त्यसबाट पछि नहट्ने उहाँले बताउनुभयो ।

रामपुर गाउँमा ऐतिहासिक बेहडाबाबा मन्दिर रहेकाले आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्नेगर्छ । सँगसँगै महादेव र सहदेव नामका दुई वटा ताल भएकाले त्यसले थप पर्यटकलाई आकर्षित गर्छ । गाउँको बाटोघाटोको विकास, कुलापानीको विकास र स्थानीयको चेतनास्तर अगाडि बढाउन आफू भलमन्साको नेतृत्वमा रहँदासम्म भूमिका निर्वाह गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया