थारु पत्रकार संघ नेपाल कपिलवस्तुको अध्यक्षमा सरिता चौधरी निर्वाचित


राम अवतार चौधरी
कपिलवस्तु, चैत २० गते । थारु पत्रकार संघ नेपाल कपिलवस्तुको नेतृत्वमा सरिता थारुसहित १३ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार जिल्लाको चार नम्बर जीतपुरमा भएको चौथो साधारणसभा तथा अधिवेशनबाट संघले नयाँ नेतृत्व पाएको हो ।

उपाध्यक्षमा सोनकुमारी थारु सर्वसम्मत चयन हुनुभयो । त्यसैगरी सचिवमा सिर्जना थारु, सहसचिवमा नरेश थारु र कोषाध्यक्षमा अनिल थारु सर्बसम्मत चुनिनुभयो । यसैबीच थापसंघका केन्द्रीय सचिव कमल चौधरीले थारु समुदायको माग मुद्दा सम्बोधन गर्न थारु पत्रकारहरुले सक्रिय भुमिका खेल्नुपर्ने बताउनुभयो । आफ्नो समाजको अस्तित्व जोगाउन मिडियाकर्मीले कलमको माध्यमबाट अहम भूमिका निर्वाह गर्न आवश्यक रहेको उहाँले भन्नुभयो ।

थारु कल्याणकारीणी सभाकी केन्द्रीय सदस्य सुमित्रा थारुले थापस र थाकसको माग मुद्दाहरु प्रायः एउटै रहेकाले दुबैको हातेमालो तथा सहकार्य जरुरी रहेको बताउनुभयो ।

चैत २५ र २६ गते नवलपुरमा हुन गइरहेको थापसको केन्द्रीय महाधिवेशनमा कपिलवस्तुबाट थापस संस्थापक अध्यक्ष सिताराम चौधरी, उमाशंकर थारु, द्वारिका प्रसाद थारुलाई अधिवेशनबाट पार्षदको रुपमा पठाउने निर्णय गरेको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले यसपालि महिलाको नेतृत्व आएपछि सकारात्मक सन्देशसँगै प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी थापस पूर्व उपाध्यक्ष द्वारिका प्रसाद थारु, थाकस कपिलवस्तु सभापति उमाशंकर थारु, थाकस बाणगंगा नगर सभापति भग्गुप्रसाद थारु, थारु महिला सभा कपिलवस्तुकी अध्यक्ष मञ्जु थारु लगायतले अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया