थारु पत्रकार संघ, नेपालको पाँचौ महाधिवेशन शुक्रबारदेखि अमलटारीमा हुँदै


हमार पहुरा डट कम
अमलटारी (नवलपुर), चैत २५ गते । थारु पत्रकार संघ, नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन तथा दशौं साधारणसभा शुक्रबारदेखि शुरु हुँदैछ । नवलपुरको थारु होमस्टे अमलटारीमा दुई दिनसम्म चल्ने महाधिवेशनले २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।

महाधिवेशनमा भाग लिन पश्चिम कञ्चनपुरदेखि पूर्व मोरङसम्मका थारु पत्रकार अमलटारीमा जम्मा भएका छन् । महाधिवेशन प्रतिनिधि र पर्यवेक्षक गरी करिब एक सय पचास जति थारु पत्रकारको महाधिवेशनमा सहभागिता रहेको अध्यक्ष सन्तोष दहितले जानकारी दिनुभयो ।

महाधिवेशनले थारु पत्रकार संघ, नेपालको विधानलाई संघीय संरचनामा लग्ने निर्णय गर्नेछ । संघको केन्द्रीय समितिसहित जिल्ला शाखा, विदेश शाखा, प्रदेश शाखाको संरचनामा तयार पारिएको विधानको संशोधन प्रस्ताव पारित गर्ने संघले जनाएको छ । संशोशन प्रस्तावमा अध्यक्षसहित एक जना वरिष्ठ उपाध्यक्ष, ८ जना उपाध्यक्ष, महासचिव एक, उपमहासचिव एक, सचिव दुई, कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी र १० जना सदस्य रहने व्यवस्थासहितको प्रस्ताव गरिएको छ । बन्दसत्रले सो प्रस्ताव पारित गरेमा नयाँ संरचनाअनुसारको कार्य समिति चयन हुनेछ ।

शुक्रबार दिउँसो शुरु हुने उदघाटन सत्रमा प्रमुख अतिथि थारु आयोगका अध्यक्ष विष्णुप्रसाद थारु रहनुहुने संघका अध्यक्ष दहितले बताउनुभयो । आयोगका अध्यक्ष थारु अमलटारी आइपुग्नुभएको छ । त्यस्तै, उद्घाटनसत्रमा केही पत्रकारलाई योगदानका आधारमा पुरस्कार तथा सम्मान कार्यक्रम तय भएको संघले जनाएको छ । नयाँ कार्य समिति सर्वसम्मत चयन गर्ने तयारी संघले गरेको छ ।

२०६७ चैत १६ गते विधिवत दर्ता भई सक्रिय रहेको संघको देशभर १६ वटा जिल्लामा शाखा रहेको छ । संघमा करिब पाँचसय जना थारु पत्रकार आवद्ध रहेको संघले जनाएको छ । यसअघि जयप्रकाश चौधरी, विनिता चौधरी, लक्की चौधरी, कृष्णराज सर्वहारी, मदन चौधरी संघको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया