तीन लाख ६० हजार रुपियाँ बराबरको विद्यार्थीलाई युनिक छात्रवृत्ति प्रदान


हमार पहुरा डट कम
वर्दिया, चैत २५ गते । युनिक नेपालले ६० जना विद्यार्थीलाई युनिक छात्रवृत्ति प्रदान गरेको छ । ६० जना विद्यार्थीमध्ये १० जना विद्यार्थीलाई दश हजार रुपियाँका दरले ५ वर्षसम्मका लागि दीर्घकालिन छात्रवृत्ति र ५० जना विद्यार्थीलाई सात हजार रुपियाँका दरले छोटो अवधिको छात्रवृत्ति प्रदान गरेको छ ।

युनिक नेपालले जेहेन्दार, अति विपन्न र टुहुरा बालबालिकाको शिक्षा प्राप्तिका लागि युनिक छात्रवृत्ति हरेक साल प्रदान गर्दैआएको छ । यस वर्षदेखि भने दीर्घकालिन छात्रवृत्तिको प्रावधान अगाडि सारेको छ । कार्यक्रममा सबैभन्दा धेरै विद्यार्थी छात्रवृत्ति प्राप्त गर्ने विद्यालय श्री जनचेतना माध्यमिक विद्यालय, मंगलपुर, अमर शहिद दशरथ चन्द माध्यमिक विद्यालय, राजापुर र श्री एकप्रिय राठौर माध्यमिक विद्यालयलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

त्यसैगरी, नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्य कृष्ण थारुमार्फत सम्पूर्ण रक्तदातालाई प्रशंसापत्र प्रदान गरिएको छ । कार्यक्रममा थारु साँस्कृतिक नाच प्रदर्शन गर्ने तीन समूहलाई प्रशंसापत्र सहित सान्त्वना पुरष्कार पाँच हजार रुपियाँका दरले प्रदान गरिएको युनिक नेपालले जनाएको छ ।

भूमी सुधार तथा व्यवस्था पूर्वमन्त्री एवं युनिक नेपालका संरक्षक डा. गोपाल दहितले छात्रवृत्तिको रकम सानो भए तापनि यसले अति विपन्न तथा टुहुरा बालबालिकाको शिक्षा आर्जनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । अहिलेको जमाना शिक्षाको जमाना भएकाले शिक्षाविना आत्मनिर्भर बन्न नसकिने उहाँले बताउनुभयो । शिक्षाका लागि अनुशासन, लगनशीलता, मेहनत, धैर्यता आवश्यक पर्ने उहाँले बताउनुभयो ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले आफु उच्च शिक्षा हाशिल गरी सकेपछि अतिविपन्न परिवारको विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जिम्मेवारी बहन गर्न आग्रह गर्नुभयो । यसैगरी, युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारुले युनिक नेपालले सामुदायिक विद्यालयका विद्यार्थीको शिक्षाआर्जन गर्न आर्थिकक सहयोगले योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । जेहेन्दार विद्यार्थीहरुलाई थप प्रोत्साहन होस् भनेर युनिक नेपालले शिक्षामा लगानी गर्दैआएको उहाँले बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै युनिक नेपालको सचिव तथा युनिक छात्रवृत्ति उपसमितिका संयोजक निर्मला चौधरीले छात्रवृत्तिका लागि विद्यार्थीहरुको छनौटका आधार र प्रक्रियाबारे स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रममा प्र.अ.हरुको प्रतिनिधित्व गर्दै नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम बहादुर थारु र विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व गर्दै भेरी माध्यमिक विद्यालयका वि.व्य.स. का अध्यक्ष राम प्रसाद ढुंगानाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले गर्नु भएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका छात्राहरुले स्वागत नाच प्रस्तूत गरेका थिए ।

तपाईको प्रतिक्रिया