नागेन्द्र चौधरी
बारा, वैशाख ७ गते । चुनाव नजिकिदै गर्दा गाउँपालिकालाई बदनाम गर्ने समाचारहरू प्रकाशन हुनेगरेको बारागढी गाउँपालिकाका प्रवक्ता अच्छेलाल महराले बताउनुभएको छ । उहाँले पत्रकार सम्मेलन गरी सो कुरा बताउनुभयो ।
महालेखा परिक्षणले प्रकाशन गरेको ५८ प्रतिवेदनमा बारागढी गाउँपालिका सबैभन्दा कम बेरुजु भएको पालिका भएकाले केही नेताहरूले पत्रकारलाई परिचालन गरि अनर्गल समाचार सम्प्रेषण गराउने गरेको बारागढी गाउँपालिकाका अध्यक्ष देवदत बछाड थारूले बताउनुभयो ।
तत्कालीन बारागढी गाउँपालिकामा सरूवा भई प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनुभएका वकिल पालले गाउँपालिकालाई नै विवादित बनाएका बेला गाउँपालिकाको सम्पूर्ण कामकाज प्रभावित भएको थियो । सोही बेला केही संचारकर्मीले विपक्षी राजनीतिक दबाबमा विभिन्न किसिमको तथ्यहिन र भ्रामक समाचार प्रकाशन गरेको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीलगायत जनप्रतिनिधिहरूले खेद प्रकट गरेको विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।
तथ्यहिन र भ्रामक समाचार लेख्ने पत्रकारलाई कार्यक्रम तथा आर्थिक लाभ हुने काम नदिएकाले समाचारहरू लेख्नेगरेको प्रमुख प्रशासकीय अधिकृत चौधरीले आरोप लगाउनुभयो । समाचार लेख्ने पत्रकारले पटक पटक कहिले वडा १ का वडा अध्यक्ष सुरेश चौधरी त कहिले स्थानीयमार्फत कार्यक्रम माग्न आउनेगरेको थियो । तर निर्वाचन नजिकिदै गर्दा आचारसंहिता लागू भएकोले अब कुनै पनि सम्झौता नगर्ने गरेको भन्दै फर्काएकाले गाउँपालिकालाई बदनाम हुनेगरी समाचार प्रकाशित गरिएको गाउँपालिकामा कार्यरत कर्मचारीहरूको भनाइ छ ।
पत्रकारले समाचार लेख्दा आचारसंहिता पालना गर्नुपर्ने हुन्छ, तर समाचार लेख्ने पत्रकारले समाचार लेख्दा सम्बन्धित कार्यालयका फाटँवाला प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतसँग प्रतिक्रिया लिई समाचार लेख्नुपर्ने कुरामा गाउँपालिकाका कर्मचारी उपेन्द्र साहले बताउनुभयो । तर समाचार लेख्ने पत्रकारले सम्बन्धित कसैको पनि बिनाप्रतिक्रिया लिई एकपक्षीय समाचार प्रकाशन गर्नेगरेको उहाँहरुको भनाई छ ।
बारागढी गाउँपालिकाको गोरख धन्दा, दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छाडिएको तथ्य फेला भन्ने शिर्षकमा प्रसारित समाचार तथ्यहिन रहेको बारागढी गाउँपालिकाका प्रशासन फाँटका कर्मचारी राजाराम साहले बताउनुभयो । प्रशासन शाखामा कार्यरत कर्मचारी साह र समाचार लेख्ने पत्रकार गाउँले भएकाले पाँच महिना पहिला समाचार लेख्ने पत्रकारले फोटो खिचेको बताउनुभयो । पुरानो फोटो देखाएर अहिले निर्वाचनको बेला विपक्षी दलसँग मिलि तथ्यहिन तथा भ्रामक समाचार बारम्बार प्रकाशित गर्नेगरेको उहाँले बताउनुभयो ।