वर्दिया घटनाको निष्पक्ष छानविन गर्न थारु आयोगको माग


हमार पहुरा डट कम
काठमाडौं, जेठ २४ गते । थारु आयोगले वर्दियाको ओराली बजारमा वन्यजन्तुबाट सुरक्षाको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी ज्यान गुमाउनु भएका स्थानीय बासिन्दा नविना चौधरीको घटनाको निष्पक्ष छानविनको माग गरेको छ ।

आयोगका प्रवक्ता तथा उपसचिव घनश्याम उपाध्यायले मंगलबार आयोगको नाममा विज्ञप्ति जारी गर्दै सो माग गर्नुभएको हो । छानविनबाट दोसी ठहर भएकालाई कानुनी दायरामा ल्याउन र मृतक परिवारलाई उचित क्षतिपूर्ति र राहत प्रदान गर्न आयोगले माग गरेको छ । घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आगामी दिनमा त्यस प्रकारको घटना पुनः दोहोरिन नदिनप्रति संवेदनशील हुन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । मधुवन नगरपालिका २, छोटकी सोनाहा गाउँकी ४१ वर्षिया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीयले वन्यजन्तुको आक्रमणबाट जोगाउन सुरक्षाको माग गर्दै सोमबार प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

तपाईको प्रतिक्रिया