नेपालको ४४ औं प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, शपथ सोमबार ४ बजे


हमार पहुरा डट कम
काठमाडौं, पु्स १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको ४४ औं प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । अध्यक्ष दाहालले सात दल र तीन स्वतन्त्र सांसदको हस्ताक्षरसहितको दावी आज आइतबार राष्ट्रपतिसमक्ष पेश गर्नुभएपछि उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले मङ्सिर ४ मा भएको संघीय निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गर्नुभएको थियो । प्रधानमन्त्री दाहालको भोलि साँझ ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताका शपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष अध्यक्ष दाहालले नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, सहित तीन स्वतन्त्र सांसदको हस्ताक्षर पेश गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया