तिलासंक्राइतको अवसरमा झुम्कामा थारू सांस्कृतिक कार्यक्रम


झुम्का, माघ ७ गते । थारु सांस्कृतिक पहिचान झल्काउने र प्रचार प्रसार गर्ने उद्देश्यसाथ रामधुनी नगरपालिका झुम्काको जितमहान चोकमा तिलासंक्राइत कार्यक्रम सम्पन्न भएको छ । मौलिक पर्व तिलासंक्राइत माघीको अवसरमा थारु महिला उत्थान समाज र मेगा डिजिटल रेकर्डिङ स्टुडियोको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

तिलासंक्राइत माघी पर्वमा मिठा परिकार, नयाँ अन्नबालीबाट बनाएका परिकार, जाडो समय रहेकाले शरीरमा तापक्रम सन्तुलन राख्ने परिकारहरु खाएर कार्यक्रम मनाइएको छ । यस दिनदेखि सूर्य उत्तरायण लाग्ने भएकाले पनि खगोलीय दृष्टिले शुभ मान्ने अवसरकोदिन पारेर कार्यक्रम आयोजना गरिएको महिला उत्थान समाजकी अध्यक्ष सीता चौधरी थरुनीले बताउनुभयो ।

कार्यक्रममा थारु परिकारहरु तिलको लड्डु, भक्का, सिध्राको आचार, लाइ, सुंगुर, कुखुरा र परेवाको मासु, घोङ्गी, सीपी, बयरको चटनी लगायतका परिकार खाएर मनाइएको आयोजकको भनाइ छ । कार्यक्रममा थारु हस्तकला, थारु नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन गराइएको थियो ।

कार्यक्रममा थारु कलाकार, गायकहरुले आफनो कला प्रस्तुति गर्नुभएको थियो । कार्यक्रमका रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीले महिलाको अगुवाईमा आयोजित कार्यक्रम भब्यरुपले आयोजना भएको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो । थारु समुदायका नयाँ पुस्तालाई संस्कृति र राजनीतिमा प्रशिक्षित गर्नुपर्ने आवश्यकता भएकाले यस्तो कार्यक्रमले सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नगर उपप्रमुख तारा थापाले थारु समुदाय आफनो संस्कार जर्गेना गर्न जागरुक रहेको बताउनुभयो । थारु समुदायमा हरेक मौलिक पर्वको अवसरमा रामधुनी नगर अन्तर्गत संस्कार संस्कृति उठान गर्ने खालका कार्यक्रमहरु गर्दै आएकाले जागरुकतासंगै अपनत्व रहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । पर्वहरुले नेपालीमा एकताको शन्देस दिने उहाँको भनाइ छ ।

त्यसैगरी थारु कानून व्यवसायी सभाका अध्यक्ष रामराज चौधरीले रामधुनीमा थारु भाषाका पठन पाठन र सरकारी कामकाजमा थारु भाषालाई प्रयोगमा ल्याउनु पर्ने बताउनुभयो । थारु समुदायले आफ्नो संस्कृतिको महत्व बुझेर थारु युवामा हस्तान्तरणको काम गर्नुपर्ने बताउनुभयो ।

थारु महिला उत्थान समाजकी अध्यक्ष सीता चौधरी थरुनीले थारु संस्कार, संस्कृतिको संरक्षणमा समाजले निरन्तर भूमिका निर्वाह गरिरहेको बताउनुभयो । रामधुनी नगरको पहिचान, पर्यटन प्रवर्धन, महिला नेतृत्वको विकासका लागि नै कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

स्टुडियोका प्रबन्धक विशाल चौधरीको संयोजकत्वमा आयोजित कार्यक्रममा रामधुनी १ वडा अध्यक्ष महेश चौधरी, वरिष्ठ पत्रकार धनकुटाका सन्जय सन्तोषी राई, थाकस पूर्व जिल्ला अध्यक्ष मिलिराम चौधरी, थारु महिला सभा जिल्ला अध्यक्ष सुशीला लेखी, कलाकार पर्शुराम चौधरी, रेनु चौधरीको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकार तथा गायक कुलदिप चौधरी, सुनिल चौधरी, लालबहादुर चौधरी, बिक्रम चौधरी, जगत चौधरीलगायतका कलाकारले प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा उत्थान समाजकी उपाध्यक्ष आशा चौधरीले स्वागत गर्नुभयो भने कार्यक्रम सञ्चालन संस्थाकी सचिव सनम चौधरीले र साँस्कृतिक कार्यक्रम अन्जली चौधरीले सञ्चालन गर्नुभयो ।

तपाईको प्रतिक्रिया