फोनिजले पहिचानको मुद्दालाई केन्द्रमा राखेर २४ औं स्थापना दिवस मनाउँदै


हमार पहुरा डट कम
विराटनगर, साउन २६ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो स्थापनाको २४ औं स्थापना दिवस मनाइरहेको छ । २०५६ साउन २७ मा स्थापना भएको फोनिजले यस वर्ष प्रदेश १ को विराटनगरमा स्थापना दिवस मनाइरहेको छ ।

त्यसका लागि फोनिजमा आवद्ध देशभरका आदिबासी जनजाति पत्रकार मोरङको विराटनगरमा भेला भएका छन् । फोनिजले आज शुक्रबार विराटनगरमा संघीय समितिको पूर्ण बैठक आयोजना गरेको छ । संघीय अध्यक्ष गजुरधन राईको अध्यक्षतामा बसेको बैठकमा संगठनात्मक गतिविधिलाई चुस्त बनाउने र पहिचानवादी मुद्दामा पैरवी गर्ने विषयमा छलफल गरेको छ ।

फोनिजले आफ्नो स्थापना दिवसको अवसरमा २७ गते विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारुले गर्ने कार्यक्रम तय भएको फोनिज केन्द्रले जनाएको छ । स्थापना दिवसलाई भव्य र सभ्य बनाउने सबै तयारी पूरा भएको संघीय समितिको भनाइ छ । सो अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सञ्चारसम्बद्ध संघ संस्था तथा पहिचानवादी नेताहरुले सम्बोधन गर्नेछन् ।

स्थापना दिवसको अवसरमा शनिबार विभिन्न छ जना प्रतिभा सम्मानित हुनेछन् । सम्मानित हुनेमा सरोकार टिभीका दिलीप थापामगर, पत्रकार देव पचभैया मगर, जीवन लामा र उन्नति चौधरी छन् । त्यस्तै मरणोपरान्त पुरस्कार किसन राई र नेवा भाषाको दैनिक पत्रिका नेपाल भाषा टाइम्स दैनिकलाई सम्मानित गर्ने कार्यक्रम रहेको फोनिज केन्द्रले जनाएको छ ।

सोहीअनुसार फोनिजले पहिचानको मुद्दामा केन्द्रीत गरेर २८ गते आइतबार अन्तरक्रिया तथा विचारगोष्ठीको आयोजना गर्दैछ । त्यसमा वक्ताहरु राजनीतिक विश्लेषक डा. महेन्द्र लावती, डम्बर खतिवडा, खगेन्द्र संग्रौला र भवानी बराल रहनुभएको छ ।

तपाईको प्रतिक्रिया