थाकस कैलालीमा त्रिपक्षीय भिडन्त हुँदै, असोज १३ गते निर्वाचन हुने


हमार पहुरा डट कम
काठमाडौं, असोज ७ गते । थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । गत शनिबार भएको अधिवेशनमा तीन जनाको उम्मेदवारी परेपछि त्रिपक्षीय भिडन्त हुने निश्चित भएको हो । मतदान आउने शनिबार १३ गते हुने थाकस कैलालीले जनाएको छ ।

अध्यक्षमा अहिलेका सचिव देशराम चौधरी, सदस्य दिलबहादुर चौधरी र वीरबहादुर चौधरीको उम्मेदवारी परेको छ । देशराम यसअघिको अधिवेशनमा पनि सभापतिका लागि इच्छुक रहेकाले अहिले स्वभाविक रुपमा आफू सभापतिको दावेदार रहेको बताउनुभएको छ ।

त्यसैगरी अधिकारकर्मी तथा लेखक दिलबहादुर चौधरीले थाकसलाई चलायमान बनाउन आफूले उम्मेदवारी दर्ता गरेको बताउनुभयो । आफ्नो नेतृत्वलाई सबैले स्वीकार गर्ने दावी उहाँले गर्नुभयो ।

थाकसका नेता प्रभात चौधरीका अनुसार आउने शनिबारसम्म सर्वसहमतिको प्रयास गरिने बताउनुभयो । सहमति बन्न नसके निर्वाचन हुने उहाँले बताउनुभयो । अध्यक्ष पदमा निर्वाचन हुने भएपनि अन्य पदमा सहमति बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । बहालवाला सचिव देशराम चौधरी र दिलबहादुर चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने भए पनि तीन जना उम्मेदवार रहेको उहाँले बताउनुभयो ।

थाकस केन्द्रले असोज १५ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नेगरी सर्कुलर गरेको छ । सोहीअनुसार थाकस कैलालीले १३ गतेका लागि निर्वाचन तय गरेको निर्वाचन समितिका सदस्य अधिवक्ता जोहारीलाल चौधरीले जानकारी दिनुभयो । अधिवेशनबाट विधानअनुसार नयाँ कार्यसमिति चयन हुने उहाँले बताउनुभयो ।

थाकस केन्द्रले असोज २४ र २५ गते केन्द्रीय समिति बैठक तय गरेको छ । महामन्त्री प्रेमीलाल चौधरीका अनुसार सो बैठकले आगामी महाधिवेशनको मिति तय गर्नेछ । थाकसका जिल्ला अधिवेशनहरु धमाधम सम्पन्न भइरहेको र त्यसबाट जिल्लामा नयाँ कार्यसमितिसँग केन्द्रीय पार्सदहरु निर्वाचित भइरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया