थारु कल्याणकारिणी सभा कैलालीको सभापतिमा वीरबहादुर चौधरी निर्वाचित


हमार पहुरा डट कम
धनगढी, असोज १४ गते । थारु कल्याण कारिणी सभा (थाकस) कैलालीको सभापतिमा वीरबहादुर चौधरी निर्वाचित हुनुभएको छ । नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीलाई ३ मतले पराजित गरी उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो ।

निर्वाचित हुनुभएका चौधरीले १५३ र पराजित हुनुभएका दिलबहादुर चौधरीले १५० मत प्राप्त गर्नुभयो । सभापतिका अर्का उम्मेदवार देशराम चौधरीले २ मत मात्र प्राप्त गर्नुभयो । त्यस्तै, उपसभापतिमा १८७ मत पाएर चुनीराम चौधरी र १५६ मत ल्याएर साथ लक्ष्मण चौधरी विजयी हुनुभएको छ ।

तीन जना उपसभापति रहने व्यवस्था रहेकोमा एक जना महिला रहने व्यवस्था छ । महिला उपसभापतिमा सुस्मिता चौधरी यसअघि नै निर्विरोध चयन भइसक्नु भएको छ । उपसभापतिका उम्मेदवार बतासु चौधरी र मानबहादुर चौधरी पराजित हुनुभएको छ ।

सचिवमा १६० मत ल्याएर बुधराम चौधरी विजयी हुनुभएको छ । अधिकारकर्मी बसन्ती चौधरीलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । पराजित चौधरीले १४३ मत प्राप्त गर्नुभयो । यस्तै, सहसचिवमा १५२ मत प्राप्त गरेर विनोद चौधरी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी रतन चौधरीले १२८ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा १६१ मत प्राप्त गरेर दीव्य प्रयासी चौधरी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी सुनिता चौधरीले १३६ मत प्राप्त गर्नुभयो । यसअघि असोज ६ गते सभाको नवौं अधिवेशन उद्घाटन गरिएको थियो । अधिवेशनको बन्दसत्रमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि आकाङ्क्षी बढी भएपछि हिजो शनिवार निर्वाचन भएको थियो ।

तपाईको प्रतिक्रिया