हमार पहुरा डट कम
धनगढी, पुस ५ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१६ मा अवस्थित थारु होमस्टे भादागाउँमा एक हप्ते माघी महोत्सव आयोजना हुनेभएको छ ।
थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको संरक्षण तथा सदुपयोगका लागि थारु होमस्टे भादागाउँ पर्यटन विकास तथा व्यवस्थापन समितिले महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।
यही पुस १७ देखि २२ गतेसम्म महोत्सव आयोजना गर्ने आयोजक समितिले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो । पर्यटन व्यवसायमार्फत थारु समुदायको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुगाउने लक्ष्यसाथ महोत्सवको आयोजना गर्न लागेको समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरी (बखरिया) ले जानकारी दिनुभयो ।
महोत्सवमा थारु खानाका परिकार, थारु सीपकला तथा भेषभूषा, थारु देउथान अवलोकन, गोरु गाडा (लहरु) मा गाउँको अवलोकन, थारु सङ्ग्रहालयको अवलोकन, काठे पिङलगायत आकर्षणको रुपमा रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा एक लाख दर्शक आउने अपेक्षा गरिएको अध्यक्ष बखरियाले बताउनुभयो ।
सन २०११ बाट भादा गाउँमा होमस्टे व्यवसाय सुरु भएको आयोजकले जनाएको छ । हाल सो गाउँको १९ घरमा घरबास (होमस्टे) सञ्चालनमा रहेको बताइएको छ । महोत्सव सञ्चालनले गाउँको प्रचारप्रसारका साथै थारु संस्कृतिको संरक्षणमा योगदान पुग्ने विश्वास आयोजकको छ ।