हमार पहुरा डट कम
जनकपुरधाम, पुस १५ गते । जनकपुरधाममा थारु आयोग काठमाडौंले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले आयोगको कामप्रति गुनासो पोखेका छन् । जनकपुरधाममा आयोजित प्रदेश तथा जनप्रतिनिधिसँग भएको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले आयागले थारुहरुको हकहितका लागि खासै काम गर्न नसकेको गुनासो गरेका हुन् ।
यस्तै, सो कार्यक्रममा सहभागी सप्तरीका नागेन्द्र चौधरीले भन्नुभयो, ‘थारु आयोग स्थापना भए पनि थारुहरुको हकहितका लागि बोल्न सकेको छैन । सरकारले आयोगको नाममा ललीपप मात्र देखाएको छ ।’ थारुहरुको हकहितका बारेमा आयोगले आवाज नउठाएको भन्दै कानुनमा सुनिश्चित भएका अधिकार पनि व्यवहारमा लागु गर्न नसकिएको उहाँको आरोप छ ।
सोही कार्यक्रममा उपस्थित रौतहटका शैलेन्द्रकुमार चौधरीले निजामति कर्मचारीमा थारुहरुको सहभागिताबारे, राजनीतिमा थारुहरुको सहभागिताबारे, स्थानीय स्तरमा थारुहरुको अधिकार सुनिश्चितताबारे आयोगको भूमिका नदेखिएको बताउनुभयो । आयोगले ध्यान नदिएका कारण थारुहरुले आफ्नो अधिकार सुनिश्चित गर्न नपाएको उहाँको भनाइ छ ।
यस्तै सप्तरीका सिएन थारुले थारुहरुको क्षेत्रमा निर्माण हुने राष्ट्रिय गौरवको योजना बनाउँदा सरकारले थारुहरुलाई एक पटक पनि सोध्नुपर्छ भन्ने नसोचेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो क्षेत्रका लाखौं रुख कटानी गर्दा पनि हामीसँग स्वीकृति नलिनु र चुरियालाई वस्तुकरण गरिएकाले चुरे क्षेत्रका वासिन्दा मारमा परेको भन्दै उहाँले जल, जंगल र जमिनमा थारुहरुको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो ।
प्रदेश सांसद राजेन्द्रप्रसाद चौधरीले आयोगले सक्रियातापूर्वक काम नगरेको बताउनुभयो । आयोगले सिफारिस गरेका काम पनि पूरा नहुनु भनेको आयोग पूर्णरुपमा सक्रिय नदेखिएको बताउनुभयो । मधेश प्रदेशमा थारुहरुको आरक्षणको कानुन बने पनि लागु हुन नसकेको उहाँको भनाइ छ ।
थारु आयोगका सदस्य भोलाराम चौधरीको अध्यक्षतामा आयोजित मधेश प्रदेश सरकार र स्थानीय तहहरुले थारु समुदाय लक्षित नीति तथा कार्यक्रम तर्जुमा गर्न जागरुक तथा अभिप्रेरित गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय तहहरुसँग छलफल कार्यक्रममा प्रदेश सांसद, आयोगका सचिव कृष्णकान्त उपाध्याय, उपसचिव घनश्याम उपाध्याय, मधेश प्रदेश स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, थारु अगुवा तथा थारु अधिकारकर्मी लगायतको उपस्थिति थियो ।