थाकस अध्यक्षमा चार जनाको दावी, प्रतिस्पर्धा दुई जनाविच हुने सम्भावना


हमार पहुरा डट कम
काठमाडौं, कात्तिक २८ गते । थारु कल्याणकारिणी सभा (थाकस) को २३ औं महाधिवेशन सन्निकट हुँदा अध्यक्षमा उम्मेदवारहरुले आफ्नो दावी पेश गर्न थालेका छन् । अध्यक्षका लागि अहिलेसम्म उपाध्यक्ष देवीप्रसाद चौधरी, संगठन विभाग प्रमुख रुक्मणी चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र सहमहामन्त्री मिनराज चौधरीले दावी पेश गर्नुभएको छ ।

उपाध्यक्ष चौधरी लुम्बिनी प्रदेश सभाको सदस्य जिम्मेवारीमा रहनुभएकाले उहाँ अध्यक्षमा आउने सम्भावना देखिदैन । उम्मेदवारका लागि दावी पेश गरे पनि उहाँ अन्तिममा चुनावी मैदान छाड्ने करिब निश्चित देखिन्छ ।

त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) पार्टीका अध्यक्ष रहनुभएका रुक्मणी चौधरी पनि अध्यक्ष पदका लागि आफू उम्मेदवार हुने हल्ला चलाउनु भएको छ । तर उहाँको पनि बार्गेनिङका लागि मात्र उम्मेदवारी हुने बुझिन्छ । निर्वाचनमा भाग लिएर प्रतिनिधिहरुबाट निर्वाचित हुने आँट उहाँमा नभएको धेरैको बुझाइ छ ।

अन्तिममा महामन्त्री प्रेमीलाल चौधरी र सहमहामन्त्री मिनराज चौधरीविच मुख्य प्रतिस्पर्धा हुने आँकलन थाकसका प्रतिनिधिहरुको देखिन्छ । थाकसका लागि सबैभन्दा बढी समय महामन्त्री प्रेमीलाल चौधरीले दिइरहेकाले उहाँको सम्भावना बढी रहेको बुझाइ एक पक्षको छ ।

अर्कोतिर सहमहामन्त्री मिनराज चौधरी पनि आफू युवा उम्मेदवार भएकाले अब थाकसको नेतृत्व गर्ने अवसर पाउनुपर्ने दावी गर्नुभएको छ । आफू नेतृत्व पाएमा थरुहट अन्दोलनकाबेला थारुहरुप्रति लगाइएका झुठा मुद्दा खारेज गराउने प्रतिवद्धता उहाँले गर्नुभएको छ । त्यस्तै, थाकसलाई नीतिगत रुपमै स्पष्ट पार्ने, सरकारले थाकससँग गरेको सम्झौता कार्यान्वयनका लागि पहल गर्ने लगायतको प्रतिवद्धता उहाँको छ ।

तराईको प्रमुख जाती समुदाय थारु भएकाले राजनीतिक दलको नजर पनि थाकसको महाधिवेशनमा रहने गरेको छ । आफू निकट उम्मेदवारलाई थाकसको नेतृत्वमा पठाउने दलका नेताहरुको पनि जोडबल रहने गरेको छ । पार्टीको भातृ संगठन मार्फत त्यसका लागि ठूला दलले पहल लिने गरेको यसअघिको महाधिवेशनमा पनि देखिएको थियो ।

अहिलेका अध्यक्ष धनीराम चौधरी नेपाली काँग्रेस निकट हुनुहुन्छ । थाकसमा सो पार्टीका कार्यकर्ताको राम्रो पकड पनि छ । सहमहामन्त्री मिनराज चौधरी पनि काँग्रेस निकट भएकाले अन्तिममा धनीराम चौधरीले मिनराजको पक्षमा उभिने विश्वास धेरैको छ । मिनराज वर्दिया जिल्ला निवासी रहनुभएकाले पश्चिमको प्रतिनिधिहरुको सहयोग रहने केहीको विश्लेषण देखिन्छ ।

अर्कोतिर महामन्त्री प्रेमीलाल चौधरी रौतहट जिल्ला निवासी रहनुभएको र वर्तमान अध्यक्ष धनीरामको निस्क्रियताको अवस्थामा कार्यकालभरी महामन्त्रीले नै सगठनलाई चलायमान बनाएको थाकसका पदाधिकारीहरुको बुझाइ छ । महामन्त्री चौधरी अहिलेसम्म घोषित रुपमा कुनै दलको झण्डा बोकेको नदेखिएकाले तटस्थ मतदाताको सहयोग उहाँलाई हुने बुझाई एक थरिका प्रतिनिधिहरुको छ ।

मंसिर १ देखि ३ गतेसम्म हुने महाधिवेशनमा अरु को को मैदानमा नेतृत्वका लागि देखिनु हुन्छ अझै स्पष्ट दावी आइसकेको छैन । वर्तमान कोषाध्यक्ष चूर्णबहादुर चौधरीको नाम पनि गाइँगुइँ सुनिने गरिए पनि उहाँले घोषित रुपमा आफूलाई उम्मेदवार बनाइसकेको अवस्था नरहेको थासका सदस्यहरुको धारणा छ । थाकस विशुद्ध सामाजिक संस्था भएकाले यसलाई राजनीतिक रंग दिन नहुने केहीको तर्क छ । यद्यपि राजनीतिक पहलविना अधिकारका मागहरु सम्बोधन गराउन सम्भव नरहेको भन्दै थाकसलाई राजनीतिक रुपमा पनि सक्रिय बनाउनुपर्ने कतिपयको बुझाइ रहँदैआएको छ ।

तपाईको प्रतिक्रिया