हमार पहुरा डट कम
काठमाडौं, साउन १८ गते । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले अगष्ट ९ (साउन २४) लाई केन्द्रमा राखेर साताव्यापी कार्यक्रम गर्ने भएको छ । ३१ औं विश्व आदिवासी दिवसको रुपमा मनाइन लागेको यस वर्षको नारा “प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट्र संघका एजेन्सी संस्था युएनड्रिप र आइएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गरंं” तय गरिएको छ ।
सो अवसरका नेफिनले जातिय भेषभुषा र झाँकीसहित पाँच हजारको बृहत ¥याली निकाल्ने जनाएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा महासंघले साउन २८ गतेसम्म कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
विश्वका आदिवासीहरुले विगत ३१ वर्ष देखि मनाउंदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवश नेपालका आदिवासी जनजातिहरुले पनि विशेष उत्सवका रुपमा मनाउंदै आएको महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले बताउनुभयो ।
आदिवासी जनजातिहरुको जातीय, भाषिक, साँस्कृतिक तथा धार्मिक पहिचानलाई स्थापित गर्ने, आदिवासीको मौलिक ज्ञान सीप र उनीहरुको थातथलोको संरक्षण एवम् प्रवर्धन गर्ने, आदिवासीको भूमि र प्राकृतिक स्रोतमाथिको अधिकार सुनिश्चित गर्ने तथा राज्यका हरेक निकायमा समानुपातीक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्दाहरुलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा बहस पैरवी गर्ने महत्वपूर्ण अवसरका रुपमा यसलाई मनाउन लागिएको नेफिनका अध्यक्ष शेर्पाले बताउनुभयो ।
३१औं विश्व आदिवासी दिवस नेपालमा आदिवासी जनजातिहरुको उत्सवको रुपमा आयोजना हुने भएकोले नेपालका आदिवासी जनजातिहरुका पहिचान झल्किने साँस्कृतिक झाँकीहरु, नृत्यहरु, खानाका परिकारहरुको प्रदर्शन गरिने नेफिनका महासचिव दिवस राईले बताउनुभयो । नेफिनले उत्सवको रुपमा मुख्य कार्यक्रम साउन २४ गते राष्ट्रियसभा गृहमा आयोजना गरिने जनाएको छ । मूल समारोहलाई नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले उद्घाटन गर्नुहुने महासचिव राईले बताउनुभयो ।
उत्सबमा आदिवासी जनजातिका मातृभाषा र लोकभाकामा बनेका गीतहरु, साँस्कृतिक झाँकीहरु, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृतिसहितका प्रदर्शनी, विभिन्न जातीय भेषभुषासहित राजधानीको मध्यभाग भृकुटीमण्डपदेखि ¥याली सुरु भएर विभिन्न स्थानहरु परिक्रमा गरी पुनः प्रदर्शनीमार्गको राष्ट्रिय सभागृहमा कार्यक्रम गरिने महासंघले जनाएको छ ।
नेफिनले साँस्कृतिक झाँकीसहितको ¥याली ११ बजे भृकुटीमण्डपमा जम्मा भएर भद्रकाली, सून्धारा, वीर अस्पताल, रत्नपार्क, पूरानो बसपार्क भएर प्रदर्शनीमार्ग राष्ट्रिय सभागृहको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत गर्ने तयारी गरेको छ ।
मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिई कार्यन्वयनको चरणमा प्रवेश गरेको भन्दै कार्यक्रममा बागमति प्रदेश सरकारको तत्कालीन मुख्यमन्त्री शालिकराम जमरकट्टेल र गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सम्मान गरिने कार्यक्रम रहेको बताएको छ ।
बागमतीमा तामाङ र नेपाल भाषा (नेवारी) भाषा र गण्डकी प्रदेशको सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषालाई मान्यता दिइएको छ । जनजातिहरुको कला, संस्कृति, पहिचान, भेषभुषा, खानाका परिकारसहितको उत्सब भएकाले ५ हजारभन्दा बढीको उपस्थित रहने आयोजकले जनाएको छ ।
नेफिनले साउन १७ गते आदिवासी जनजाति अपाङ्ग महासंघको सम्मेलन, २० गते महलिा महासंघको बहस कार्यक्रम, २२ गते आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रम, एफएओ र युनेस्कोको आदिवासीहरुको मातृभाषा र खाद्य सुरक्षासम्बन्धी अभिमूखिकरण कार्यक्रम तथा उत्सव, २२ गते नै आदिवासी जनजाति आयोगले आदिवासी जनजाति र एआईबारे कार्यशाला, २३ गते गुरुङ राष्ट्रिय परिषद्को चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम रहेको महासंघले जनाएको छ ।
सोहीअनुसार २४ गते नेफिनको मूल समारोह, २५ गते नेपाल मगर संघको अन्तरक्रिया, २५ गते नै युवा महासंघको पैदल यात्रा तथा अन्तरसम्वाद, २५ गते विद्यार्थी महासंघको आदिबासीको भविष्य र एआई विषयक अन्तरक्रिया, २६ गते आदिवासी जनजातिहरुको सवलमा संवाद कार्यक्रम, २७ गते नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवस तथा फोनिज अवार्ड कार्यक्रम रहेको छ । २८ गते सुनुवार सेवा समाजको कला साहित्य पुरस्कार वितरण कार्यक्रम लगायत रहेको महासंघले जनाएको छ ।