३० गते काठमाडौंमा तय भएको थारू जितिया महोत्सव स्थगित


हमार पहुरा डट कम
काठमाडौं, भदौ २८ गते । देशको विषम परिस्थितिका कारण थारु समुदायको जितिया पर्व महोत्सवको रुपमा नमनाउने थारु महिलाले निर्णय गरेका छन् । थारु महिला सभाले ३० गते सोमबार पर्यटन बोर्डको सभाहलमा जितिया महोत्सव मनाउने तय गरेको थियो ।

सभाका अध्यक्ष ललिताकुमारी चौधरीले शनिबार विज्ञप्ति जारी गर्दै अहिलेको विषम परिस्थितिमा महोत्सव स्थगित गरिएको र जितिया पर्वलाई आ–आफ्नो घरमै परम्परागत रुपमा मनाउन आग्रह गर्नुभएको छ ।

थारु समुदायका महिलाहरुको प्रमुख पर्वको रुपमा रहेको जितिया पर्वलाई यस वर्ष सामुहिक रुपमा मनाउने वातावरण नभएको अध्यक्ष चौधरीको भनाइ छ । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको वातावरण सहज बनिनसकेकाले जितिया पर्वलाई आफ्नै घरमा मनाउन उहाँले आग्रह गर्नुभएको छ ।

थारु समुदायले तीन दिन जितिया पर्व मनाउने गर्दछन् । भदौ २८ देखि ३० गतेसम्म मनाइने जितिया पर्वलाई परिस्थितिका कारण महोत्सवको रुपमा नमनाइने अध्यक्ष चौधरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया