
हमार पहुरा डट कम
काठमाडौं, जेठ १६ गते । थारू कल्याणकारिणी सभा (थाकस) ले थारू मानक व्याकरण तथा स्तरीकरण प्रारम्भ गोष्ठी, सामाजिक समावेशीकरण एवम् लैङ्गिक समानताका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
काठमाडौंमा शनिबार विहानदेखि आयोजित कार्यक्रममा चार जना व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । थारू मानक व्याकरण तथा स्तरीकरणका विषयमा डा. रामबहादुर थारू र महेश चौधरीले कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यसैगरी सामाजिक समावेशीकरणको विषयमा पत्रकार लक्की चौधरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोहीअनुसार लैङ्गिक समानताका विषयमा अधिवक्ता बुद्धसेन चौधरीले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
सो कार्यपत्रमाथि कार्यक्रममा सहभागी थारु बौद्धिक व्यक्तित्वहरुले छलफलमा भाग लिई सुझाव प्रदान गर्नुभएको थियो । थाकसका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा करिब एक सयजनाको सहभागिता थियो ।

कार्यक्रमको उदघाटनसत्रमा थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारु, आयोगका सदस्य भोलाराम चौधरी र शान्ति मोदी थारूले धारणा राख्नुभएको थियो । त्यसैगरी आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनले धारणा राख्नुभयो ।
आदिबासी समुदायमा थारू समुदाय जनसंख्याको हिसावले ठुलो र ऐतिहासिक विरासत बोकेको समुदाय भएकाले यसको भाषा, संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने सुझाव उहाँको थियो । कार्यक्रममा नेमसिंह चौधरी, चन्द्रनारायण चौधरी, बालगोविन्द चौधरी, पुरुषोत्तम चौधरी लगायतले कार्यपत्रमाथि सुझाव दिनुभएको थियो ।




