
हमार पहुरा डट कम
काठमाडौं, भदौ २ गते । राािष्ट्रय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारु र अर्का सदस्य करिश्मा कठरियाले भदौ ७ अघि टीकापुर घटनाबारेको लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै प्रतिनिधिसभा सदस्य थारु र कठरियाले भदौ ७ गतेअघि प्रतिवेदन सार्वजनिक गरी दोसीलाई कारवाही गर्न माग गर्नुभयो । टीकापुर घटना घटेको ११ वर्ष भइसक्दा समेत सरकार यसमा गम्भीर नबनेको भन्दै उहाँहरुले वर्तमान सरकारलाई आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको हो ।
टीकापुर घटनाले थारु समुदायलाई पोलिरहेको बताउँदे थारुले निर्वाचनताका स्थानीय नागरिकसँग लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता गरिएकाले वर्तमान सरकारले सो काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । प्रतिवेदन सार्वजनिक गर्न नसके कारणसहितको प्रष्टिकरण सदनलाई जानकारी गराउन उहाँले सुझाउनुभयो ।
“भदौ ७ अघि गृहमन्त्रीज्यूलाई सदनमा आएर प्रतिवेदन सार्वजनिक गर्न म जोरदार माग गर्दछु” उहाँले भन्नुभयो । थारु समुदाय चुप लागेर बस्दा समुदायको कमजोरी सरकारले सम्झिन नहुने उहाँले बताउनुभयो ।
“भदौ ७ अघि गृहमन्त्रीज्यूलाई सदनमा आएर प्रतिवेदन सार्वजनिक गर्न म जोरदार माग गर्दछु”
त्यस्तै, रास्वपाकै अर्का सांसद करिष्मा कठरियाले ११ वर्षअघि घटेको टीकापुर घटनापछि संयौं थारुमाथि झुठा मुद्दा जारी रहेकाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी निर्दोस थारुहरुलाई न्याय दिन उहाँले माग गर्नुभयो । उहाँले भदौ ७ अघि नै प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । “भदौ ७ को घटना थारु समुदायका लागि कालो दिन हो । मुलुकमा व्यवस्था बदलियो तर भूमिपुत्रमाथि अन्याय गरेर कसरी संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहन सक्छ ?”
२०७२ साल भदौ ७ गते टीकापुर घटना हुँदा ८ जनाको ज्यान गएको थियो । सो घटनाको छानविन गर्न तत्कालीन न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । आयोगले प्रतिवेदन सरकारलाई बुझाए पनि सार्वजनिक गरिएको छैन ।




