नागरिक पार्टीको तराई चक्काजामको प्रभाव परेन, केही पक्राउ


काठमाडौं, पुस ६ गते । नागरिक समाजवादी पार्टीको आव्हानमा बुधबार तराई चक्काजामको खासै प्रभाव पर्न सकेन । मंगलबार साँझको मसाल जुलुश प्रदर्शन नै फितलो भएपछि चक्काजामको प्रभाव कम परेको हो ।

चक्काजाममा थारु कल्याणकारिणीसभा, थरुहट थारुवान संयुक्त संघर्ष समितिको समेत ऐक्यवद्धता नदेखिएपछि चक्काजाम प्रभावकारी हुन नसकेको बताइएको छ । नेता राजकुमार लेखी नेतृत्वको पार्टीको आव्हानमा गरिएको चक्कामले पश्चिम तराईमा त प्रभाव परेको छैन नै, पूर्वी तराईमा समेत प्रभाव नपरेको हाम्रा समाचारदाताले बताएका छन् ।

लहानमा सो पार्टीका नेता तथा कार्यकर्ताले चक्काजाम गराउने क्रममा प्रहरीले केहीलाई पक्राउ गरेको छ । सो पार्टीका प्रवक्ता राज थारुकाअनुसार बुधबार विहान सिराहाको लहानबाट राज थारु, खडगनारायण चौधरी, रामचन्द्र थारु, अनिल चौधरी, दशमीलाल चौधरी, सन्तोष चौधरी, दुर्गा थारु लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

पहिचानसहितको संघीयता, राज्यको सबै निकायमा समानुपातिक समावेशीताको माग गर्दै सो पार्टीले पुस ६ गते एकदिन तराईमा चक्काजामको आव्हान गरेको थियो । पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखीले प्रभाव खासै नपरे पनि लामो दुरीको यातायात ठप्प रहेको बताउनुभयो । छोटो दुरीको यातायात भने सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया