चितवन, पुस ७ गते । नारायणगढ–मुग्लिन सडकखण्ड विहिबारदेखि दैनिक चारघन्टा रोकिने भएको छ । विस्तारका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म दैनिक चारघन्टा सडक आवागमन रोकिने भएपछि वैकल्पिक मार्गको प्रयोग गर्न नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ ।
सो सडकखण्डको सबैभन्दा संवेदनशील र कठिन ठाउँमा सडक विस्तार गर्न लागिएकाले रोकिएको समय अघिपछि पनि ट्राफिक जामकाकारण यात्रुले दुःख पाउने र सडक विस्तारमा अवरोध हुनेहुँदा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको हो । सो सडकको मुग्लिनदेखि कालीखोलासम्मको दुई किलोमिटर भागमा सडक चौडा गरिँदैछ ।
आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार सो क्षेत्रमा ५, ५ मिटर मात्रै सडक चौडा छ । जहाँ विस्तार गरेर सडक १० मिटर फराकिलो बनाइँदैछ । त्यसका लागि भित्ता काट्नुको विकल्प नरहेको भन्दै उहाँले एकसय ५० फिट अग्लो पहाडलाई काटेर सडक चौडा गरिने बताउनुभयो । यहाँ कडा चट्टान रहेका छन् । खनालका अनुसार एउटा ब्रेकरले दैनिक ५० देखि ६० घनमिटर मात्रै चट्टान काट्न सक्छ ।
आयोजनाले स्थानीय प्रशासनसँग दैनिक आठ घन्टा सडक रोक्न माग गरेको भएपनि ट्राफिक व्यवस्थापन गर्न कठिन हुने भन्दै आजदेखि बिहान ११ देखि दिउँसो तीन बजेसम्म मात्रै चारघन्टा आवागमन रोक्न अनुमति दिएको छ ।
यसैगरी, सडकको १६ किलोमा पाँचसय मिटर र घुमाउनेमा दुईसय मिटर लामो डाँडो नै काट्नुपर्ने हुन्छ । यसका लागि आयोजनाले स्थानीय प्रशासनसँग दैनिक आठ घन्टा सडक रोक्न माग गरेको भएपनि ट्राफिक व्यवस्थापन गर्न कठिन हुने भन्दै आजदेखि बिहान ११ देखि दिउँसो तीन बजेसम्म मात्रै चारघन्टा आवागमन रोक्न अनुमति दिएको छ ।
सडक विभागको योजना तथा डिजाइन महाशाखाले गरेको सर्वेक्षणअनुसार सो सडक हुँदै दैनिक ६ हजार एकसय ७७ हाराहारीमा सवारी आवागमन हुने गर्दछ ।
दिउँसो चार घन्टाको समयमा सो सडक हुँदै जाने एकहजार चारसय २६ सवारीसाधन अर्थात् २३.०९ प्रतिशत सवारीसाधन प्रभावित हुने देखिन्छ । यसका अतिरिक्त अन्य समयमा हुने सवारीको चाप त्यत्तिकै रहन्छ जसकालागि वैकल्पिक मार्गको विकल्प नभएको आयोजनाले जनाएको छ ।
आयोजनाले सार्वजनिक गरेको सवारी रुटअनुसार राजधानी काठमाडौँबाट पूर्वतर्फ जाने तीनवटा वैकल्पिक मार्ग प्रयोग गर्दा छोटो दूरीमा गन्तव्य पुग्न सकिने देखिन्छ । पश्चिमतर्फ भने एउटा मात्रै वैकल्पिक मार्ग भएकाले केही लामो दूरी यात्रा गर्नुपर्ने हुन्छ ।
दिउँसो चार घन्टाको समयमा सो सडक हुँदै जाने एकहजार चारसय २६ सवारीसाधन अर्थात् २३.०९ प्रतिशत सवारीसाधन प्रभावित हुने देखिन्छ ।
इन्जिनियर खनालकाअनुसार पूर्व जान बिपी राजमार्ग, त्रिभुवन राजपथ र हेटौँडा–भीमफेदी–बल्खु मार्ग प्रयोग गर्न सकिन्छ भने पश्चिमका लागि पृथ्वीराजमार्ग हुँदै सिद्धार्थ राजमार्ग प्रयोग गरेर गन्तव्यसम्म जान सकिन्छ । ती मार्गबाट १२ मिटरभन्दा लामा र बढी भार भएका ट्रकको हकमा भने नारायणगढ–मुग्लिन सडकको विकल्प नभएको खनालले बताउनुभयो ।
वैकल्पिक रुपमा बिपी राजमार्ग प्रयोग गरेर बनेपा हुँदै बर्दिबाससम्म पुग्दा एकसय ७७ किलोमिटर, त्रिभुवन राजपथ प्रयोग गरेर नौबिसेबाट हेटौँडा पुग्दा एकसय आठ किलोमिटर, बल्खुबाट भीमफेदी हुँदै हेटौँडासम्म जाँदा एकसय ४६ किलोमिटर दूरी छोटो हुने आयोजनाले जनाएको छ ।
पश्चिम नेपालतर्फ भने मुग्लिनबाट पोखरा हुँदै बुटवल जाँदा ७१ किलोमिटर दूरी लामो हुने देखिएको छ । सवारी आवागमन बन्द भएपछि हुने सवारी जामलाई व्यवस्थित गर्न सडकखण्डमा चौबिसै घन्टा मोटरसाइकलमा प्रहरी परिचालन गरिँदैछ भने बिग्रेका सवारी हटाउनका लागि क्रेन र डोजर तयारी अवस्थामा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले यात्रुवाहक सवारी र मालवाहक सवारीलाई फरक फरक लाइन लगाएर यात्रुवाहकलाई प्राथमिकता दिएर सडक पार गराउने व्यवस्था गरिएको बताउनुभयो । रासस