थारु विद्यार्थी समाजले विद्यार्थी सभा गठनप्रति जनायो कडा आपत्ति


काठमाडौं, पुस १२ गते । थारु विद्यार्थी समाज केन्द्रीय समितिले थारु विद्यार्थी सभा गठन गरेको कदमप्रति आपत्ति जनाएको छ । थारु कल्याणकारिणीसभाले हालै आफ्नो भातृ संगठनकोरुपमा विद्यार्थी सभा गठन गरेको थियो ।

विद्यार्थीको गौरवशाली छाता संगठनको ओजपूर्ण गरिमालाई धमिल्याउँदै कमजोर पार्ने सुनियोजित योजनासाथ थाकसले सभा गठन गरेको ठहर विद्यार्थी समाजको छ । समाजले त्यसको भत्र्सना गरेको छ ।

थारु विद्यार्थी समाजको समानान्तर संगठन विद्यार्थी सभा गठन गरेर थाकसले विद्यार्थीलाई फुटाएर कमजोर बनाउने ध्येय राखेको बुझाई समाजको छ । समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीले मंगलबार विज्ञप्ती जारीगर्दै सभा गठनको भत्र्सना गर्नुभएको छ ।

थाकसको सो कदमप्रति सजग रहन केन्द्रीय अध्यक्ष चौधरीले उपत्यकासहित २२ जिल्लाका समितिलाई सचेत गराउनुभएको छ । उहाँले कसैलाई विचलित नहुन पनि आग्रह गर्नुभएको छ ।

हेर्नुहोस् समाजले जारी गरेको विज्ञप्तीको पूर्णपाठ

प्रेस विज्ञप्ती

थारु समुदायको महान राष्ट्रिय पर्व माघी नजिकिदै गर्दा थारु कल्याणकारिणीसभाले हालै गठन गरेको थारु विद्यार्थी सभाको गठन कार्यप्रति थारु विद्यार्थी समाजको गम्भिर ध्यानाकर्षण भएको छ । सम्पूृर्ण थारु विद्यार्थीहरुको एकमात्र गौरवशाली राष्ट्रिय छाता संगठन थारु विद्यार्थी समाजको ओजपूर्ण गरिमालाई धमिल्याउदै कमजोर पार्ने सुनियोजित योजनाकासाथ समाजकै केही केन्द्रीय पदाधिकाहरुलाई प्रयोग गर्दै थारु कल्याणकारिणीसभाका केही व्यक्तिहरुले नीहित राजनीतिक अभिष्ट पुरागर्ने उद्देश्यकासाथ थारु विद्यार्थीसभा गठन गरेको कार्यप्रति हामी खेद व्यक्तगर्दै घोर भर्तसना गर्न चाहन्छौं ।

थारु विद्यार्थीहरुको शैक्षिक हकहित, उत्थान तथा समग्र थारु समुदायको वृहत्तर हितका निमित्त ऐतिहासिक थरुहट आन्दोलनको नेतृत्वसमेत गर्दै दुई दशकभन्दा लामो संघर्षको यात्रा पार गरिसकेको समाजको समानान्तर झलक दिनेगरी बनाईएको थारु विद्यार्थी सभा गठन गर्नुको था. क. स. को एउटै उद्देश्य हो विद्यार्थीहरुलाई फुटाउदै कमजोर बनाई प्रयोग गर्ने षड्यन्त्र मात्रै हो भन्ने समाजको धारणा रहेको छ । यदि थारु विद्यार्थीहरुको हकहितका निमित्त था. क. स. साच्चिकै संवेदनशील भईदिएको भए आफ्नो राष्ट्रिय महाधिवेशन समापनसंगै विद्यार्थीको सवालमा संगठन निर्माण तथा कार्य योजना बनाई अघि बढ्न सक्थ्यो । तर राष्टिय पर्व माघीको नेतृत्व थारु विद्यार्थी समाजले गर्न थालेपछि आरिसले मुरमुरिदै प्रतिशोधका आधारमा नाममात्रको सभा गठन गर्नुको कुनै औचित्य तथा तूक छैन ।

देशभरिकै थारु विद्यार्थी सभा गठन गर्ने नाममा काठमाण्डौको टलीबसस्थित कुनै राजनीतिक पार्टीको बन्द कोठामा बसेर आफ्ना आसेपासे भरौटेहरुलाई उचाल्दै संगठन निर्माण गर्ने कार्य थारु विद्यार्थी र समग्र थारु समाजकै लागि दुःखद एवं विडम्बना हो । थारु विद्यार्थीहरुलाई माघीमा प्रयोग गर्ने कुनियतकासाथ सभामा रहेका केही ब्यक्तिहरु थारु कल्याणकारिणी सभाको बुई चढेर राजनीतिक खेल्ने दाउमा लागेका छन् भन्ने घामजस्तै छर्लड्ड छ । था. क. स. मा रहेका र आफुलाई थारुको मसिहा सम्झनेहरु केही व्यक्तिहरुले थारु विद्यार्थीहरुलाई जोड्नुभन्दा पनि टुटाउदै फुटाउदै आफ्नो स्वार्थकालागि विद्यार्थीहरुलाई प्रयोग गर्न तल्लिन रहेका छन् । यस प्रति सम्पूर्ण थारु विद्यार्थी समाजका उपत्यका लगायत २२ जिल्लाका विद्यार्थी साथीहरुलाई सजग एवम् सचेत रहन अनुरोध गर्दछौं

अन्त्यमा उनीहरुको भडँुवा नीति र सुनियोजित योजनाप्रति सदैव सचेत रहँदै गलत हर्कतको विरोध एवं प्रतिरोध गर्दै थारु विद्यार्थी समाजले महाधिवेशनबाट लिएको कार्यदिशातर्फ बिचलित नभई थरुहट आन्दोलनको माग मुद्दालाई पुरा गराउनकालागि एकदमै सक्रिय एवं सशक्त भई निरन्तर लागिपर्न यसै प्रेस विज्ञप्तिमार्फत हार्दिक आह्वान गर्दछौं ।

…………………..
चन्द्रप्रसाद चौधरी
अध्यक्ष
थारु विद्यार्थी समाज
केन्द्रीय समिति काठमाडौं ।

तपाईको प्रतिक्रिया