भादा गाउँलाई पर्यटन गाउँकोरुपमा विकास गर्नुपर्छः प्रमुख थापा


राम दहित
भादा, (कैलाली), पुस १७ गते । थारु होमस्टे भादा गाउँलाई पर्यटन गाउँको रुपमा विकास गर्नुपर्ने नेकपा (एमाले) पर्यटन प्रवद्र्धन विकास विभाग प्रमुख सुर्य थापाले बताउनुभएको छ ।आइतबार थारु होमस्टे गाउँ भादा महोत्सव २०७३’लाई उद्घाटन गर्दै प्रमुख थापा उक्त कुरा बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका थापा थारु होमस्टे भादागाउँलाई पर्यटन गाउँकोरुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्नु आवश्यक रहेको बताउनुभयो ।

थारु होमस्टे भादागाउँलाई पर्यटन गाउँकोरुपमा विकास गरेर प्रचारप्रसारसहित बजारीकरणको आवश्यक रहेको छ, थापाले भन्नुभयो । उहाँले होमस्टेको प्रचारप्रसार भएदेखि आन्तरिक र बाह्य पर्यटकहरु स्वतः भित्रने विश्वाससमेत व्यक्त गर्नुभयो ।

थारु होमस्टे भादागाउँ आफैमा मौलिक कला, संस्कृतिमा धनीरहेको बताउदै उहाँ उक्त कला, संस्कृतिलाई जर्गेना गर्नुपर्ने समेत आवश्यक रहेको बताउनुभयो । त्यसैगरी प्रमुख थापा उक्त कला, संकृतिले स्वदेसी तथा विदेशी मुद्रा पनि आर्जन गरी आफ्नो समुदायको आयस्तर उकास्न सकिने चर्चा गर्नुभयो । साथै उहाँले भादागाउँमा सार्वजनिक भवनको आवश्यक रहेको बताउदैं आफू उक्त सार्वजनिक भवन निर्माण का लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका सल्लाहकार हनुमान चौधरी महोत्सवले पुराना संस्कृति केही हदसम्म संरक्षण सम्बद्र्धन गर्न सफल भएको तर सोंचेजस्तो संरक्षण सम्बद्र्धन गर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा बार एशोसिएसनका पूर्व केन्द्रिय उपाध्यक्ष जोहारीलाल चौधरी थारु समुदाय कला, संस्कृतिमा विशेष धनी रहेको बताउनुभयो ।
थारु विद्यार्थी समाजका केन्द्रिय उपाध्यक्ष ठाकुरप्रसाद करिया प्रधान भादाका स्थानीयहरुलाई महोत्सवले जनचेतनामा वृद्धि गर्न सहयोग गरेको बताउनु भयो । साथै उहाँले महोत्सवले थारु जागरणलगायत थारु हक अधिकारका लागि समेत सहयोग पु¥याइएको बताउनुभयो ।

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिके अध्यक्ष लक्ष्मीनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य समितिका सचिव रामबहादुर चौधरीले गर्नुभएको थियो ।

थारु संस्कृति, थारु भेषभुषा, खानपिन, रहनसहनलाई प्रोमोशन तथा प्रर्वद्धन गर्नका लागि महोत्सव पुस १७ देखि २१ गतेसम्म संचालन हुने भएको हो । थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको प्रयासमा २०६७ सालदेखि सञ्चालन हुदैं आएको महोत्सव यो छैठौं संस्करण हो । महोत्सवमा थारु खानपान, थारु कलासीप, हस्तकला, थारु संग्राहलय, जुत्ता चप्पल, रेडिमेट कपडा, किराना पसल मिठाईं पसल लगायत ४० भन्दा बढी स्टल रहेको छ । महोत्सवमा प्रत्येक दिन स्थानीय कलाकारहरुको प्रस्तुति, स्थानीयनाच (सखिया नाच, झुम्रा नाच, मघौटा नाच, मुंग्रह्वा नाच, हुर्दङग्वा नाच, लठ्ठी बैठकी र गुरुवा नाँच) हुने आयोजक जनाएको छ ।

त्यस्तै सजना, मैना, धमार, बर्कीमार, लग्नी, कठ्मघैया, बिरहनी गीतको प्रस्तुती लगायत रानाथारु, कठरिया थारु गीत पनि प्रस्तुत गरिने समेत आयोजक जनाएको छ । महोत्सवको मूख्य आकर्षकको रुपमा थारु परिकार ढिक्री, खेरिया, फूलौरी, अण्डीक भात, खुम्रा, पनझझरा, कचरीक बरिया, घोघी, गेगटा, सुटही, मुसाको परिकार, सिध्रा मच्छी, मौहुवाक दारु, चौरक दारु, निघार, छवुवा जाँर लगायत तमान खाना र नास्ताको परिकार रहेको छ ।

थारु गाउँ भादामा १९ घर होमस्टे सञ्चालन रहेको छ । धनगढी उपमहानगर पालिका–१६ स्थित थारु होमस्टे गाउँ भादा पुग्नका लागि सदरमुकामदेखि १७ किलोमिटर उत्तरपूर्व र पूर्वपश्चिम महेन्द्र राजमार्ग राजीपुरदेखि ७ किलोमिटर दक्षिणपश्चिम रहेको छ ।

तपाईको प्रतिक्रिया