सन्तकुमार चौधरी
चितवन (खैरहनी) पुस २८ गते । पूर्वी चितवनको खैरहनी नगरपालिका अन्तर्गत गौचरनमा विहीवारदेखि चौथों खिचरा महोत्सव २०७३ सुरु भएको छ । महोत्सवको एक कार्यक्रमका बीच पूर्व अर्थमन्त्री एवम् चितवन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै सांसद पाण्डेले थारु समुदायको संस्कृति संरक्षणमा गम्भिर भएर लाग्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले चितवनमा थारु सँग्रहालयदेखि अन्य आवश्यक पर्ने संरचना निर्माणका लागि आफु क्रियाशील भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले चितवनमा जग्गाको खोजी गर्न समेत थारु समुदायका अगुवाहरुलाई आग्रह गर्नुभयो । संग्राहालय निर्माण देखि आवश्यक संरचना निर्माणकालागि बजेटको व्यवस्थापन गर्न म लाग्नेछु उहाँले भन्नुभयो । उहाँले थारु समुदायको कला संस्कृतिसँगै खानपानलाई अन्तर्राष्ट्रियकरण गरेर विश्वलाई चिनाउन सकिने समेत बताउनुभयो ।
अर्को फरक प्रसंगमा पूर्व अर्थमन्त्री पाण्डेले संविधान संशोधनको विषयमा थप वहस गर्नुपर्ने बताउनुभयो । केही प्राविधिक समस्याहरु रहेकाकारण संशोधनमा हतार गर्ननहुने उहाँले बताउनुभयो । नागरिकता र भाषाको विषयमा देखिएको समस्यालगायत प्रदेश निर्माणको विषयमा बहस नगरी संशोधन गर्न आवश्यकता छैन उहाँले भन्नुभयो ।
थारु समुदायको मागहरु अन्य समुदायको तुलनामा कम संवोधन भएको स्वीकार गर्दै पूर्व अर्थमन्त्री पाण्डेले राजनीतिमा थारु समुदायलाई अग्रस्थान दिलाएरै छाड्ने बताउनुभयो । उहाँले थारुलाई केहीवर्ष भित्रमा राष्ट्रपति बनाएर छाड्ने प्रतिवद्धता जनाउनुभयो ।
महोत्सव उद्घाटनसत्रलाई संवोधन गर्दै थारु कल्याणकारिणीसभा केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले सत्ता पक्ष र प्रतिपक्षीबीचको खिचातानीकाकारण मुलुक बर्वादीकोतर्फ उन्मुख हुँदैगएको बताउनुभयो । कार्यक्रमका विशेषअतिथि समेत रहनुभएका सचिवालय सदस्य लेखीले राज्यले झुठामुद्दा लगाएर थारु समुदायलाई अपमान गरेको समेत बताउनुभयो ।
शान्तिपूर्ण आन्दोलनमाथि षडयन्त्रपूर्ण तरिकाले बुट र बन्दुकको भरमा आन्दोलन निश्चेत पार्नखोजको आरोप लगाउनुभयो । अझैपनि २ सय भन्दाबढी थारुहरुमाथि राज्यले झुठामुद्दा लगाएको उहाँले बताउनुभयो ।ं आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षसमेत रहनुभएका लेखीले संविधान संशोधनविना मुलुकमा शान्ति स्थापना हुन नसक्ने बताउनुभयो । संविधान संशोधनपछि मात्रै निर्वाचनमा जान सकिने उहाँको भनाई थियो ।
कार्यक्रममा फोरम लोकतान्त्रिक चितवनका अध्यक्ष जोखा चौधरीले पुनरसंरचनाको विषयमा काँग्रेस, एमाले र माओवादी लगायतका राजनीतिक दलहरुले थारु समुदायलाई ठगेको आरोप लगाउनुभयो । पुनरसंरचनाको विषयमा चितवनका राजनीतिकदलहरुसँग बसेको बैठकमा थारुहरुलाई अग्राधिकार दिने प्रतिवद्धता जनाए पनि कार्यान्वयनको बेला थारुहरुलाई ठगेको उहाँको आरोप थियो ।
थरुहट लोकतान्त्रिक तराई मञ्चका केन्द्रीय कोषाध्यक्ष ललितकुमार चौधरी, माओवादी केन्द्रका नेता जगन्नाथ आर्चाय, नेपाली काँग्रेसका नेता राजु सिल्वाल, महोत्सव आर्थिक समितिका संयोजक टिकेन्द्र चौधरी, थारु कल्याणकारिणीसभा चितवनका अध्यक्ष विश्राम महतो, पूर्व केन्द्रीय सदस्य चन्द्रकुमारी चौधरी, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
थारु कल्याणकारिणी सभा क्षेत्र नं. ७ का सभापति नारायणप्रसाद महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कालिप्रसाद बास्कोटा, श्रीनिवास चौधरीको साँगेतिक प्रस्तुती शुक्रवार रहनेछ । माघ ५ गतेसम्म चल्ने महोत्सवमा १ सय २० वटा व्यवसायिकस्टलहरु राखिएका छन् । यस्तै महोत्सव परिसरमा कृषि प्रदर्शनी, थारु मिनी संग्राहालय लगायत थारुहरुको परम्परागत खानाको परिकारहरुको स्टलहरु समेत रहेका छन् ।
महोत्सव अवधिभर झण्डै २५ लाख बराबरको आर्थिक कारोवार हुने अनुमान गरिएको छ भने, झण्डै ३० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । उद्घाटन पूर्व खैरहनी पर्साबजारको चौविसकोठीबाट विभिन्न जातजातिको भेषभुषासहितको झाँकीले बजार परिक्रममा गरेको थियो ।