लक्की चौधरी
काठमाडौं, माघ १९ गते । ललितपुर कुपण्डोलमा रहेको नाइटिङ्गेल स्कूलले स्थापनाको २४ औं वार्षिकोत्सव बुधबार भव्यताकासाथ मनाएको छ । लगातार तीन पटक सर्वोत्कृष्ट भई राष्ट्रिय पुरस्कार पाउन सफल सो विद्यालयले यस पटकको प्रवेशीका परीक्षाको ग्रेडिङ प्रणालीमा पनि नेपालमै दोस्रो स्थान ल्याउन सफल भएको थियो ।
५० जना विद्यार्थीसहित २०४९ सालमा स्थापना भएको सो विद्यालयमा अहिले करिब तीनहजार विद्यार्थीले अध्ययन गर्छन् । प्लस टुसम्मको अध्ययन अध्यापन हुने सो विद्यालयबाट विद्यार्थीहरु सर्वोत्कृष्ट स्थान बनाउन सफल भएपछि विद्यार्थीको चाप सोचेकोभन्दा वढी रहेको विद्यालयका फाउण्डर तेजुलाल चौधरीले बताउनुभयो ।
नेपाली कांग्रेसबाट सप्तरी क्षेत्र नं ५ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीकाअनुसार अहिले विद्यालयमा अढाईसय शिक्षक शिक्षिकाले रोजगार पाएका छन् । काठमाडौंका विद्यालयमा शिक्षाकोस्तरमा बृद्धि भएपनि समग्र देशको शैक्षिकअवस्था अझै नाजुक रहेको चौधरीले बताउनुभयो । समग्र देशलाई शिक्षित बनाउन नसक्दासम्म देशको विकास सम्भव नरहेको बताउँदै उहाँले आफूहरुले त्यसकालागि सरकारलाई सहयोगी भूमिका निर्वाह गरिरहेको उहाँको भनाई छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र प्रसाद भट्टराईले अभिभावकहरुको प्रत्यक्ष अभिभावकत्वको अभावमा विद्यार्थीको शिक्षणअवस्थामा सुधार आउन समस्या रहेको बताउनुभयो । विद्यालयमा राम्रो अध्यापन हुने भएपनि घरमा अभिभावकको हेरचाहविना विद्यार्थीको पढाई सर्वोत्कृष्ट हुन नसक्ने उहाँले बताउनुभयो ।
नाइटिङ्गेल स्कूल नेपालमै सर्वोत्कृष्टको कोटीमा रहेकोमा धन्यवाद ज्ञापन गर्दै उहाँले विद्यालयको थप सफलताको शुभकामना व्यक्त गर्नु भयो । शिक्षाविना कुनै पनि मुलुकको समुचित विकास सम्भव नरहेको बताउँदै उहाँले नेपाली विद्यार्थीहरुलाई जति साक्षर र सचेत बनाउन सक्यो त्यति नै देशको विकासमा तिव्रता आउने बताउनुभयो ।
ललितपुरको सैनिक मञ्चको मैदानमा आयोजित वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले सामुहिक, व्यक्तिगत नृत्य र खेलकुद प्रदर्शन गरेका थिए । विद्यालयका विभिन्न विद्यार्थीहरुले दौड, नृत्य, मार्चपास, खेलकुद तथा सांस्कृतिक प्रदर्शनमा भाग लिएका थिए । विद्यार्थीको प्रदर्शन र उत्कृष्ट रहेको भन्दै अध्यक्ष भट्टराईले प्रसंशा गर्नुभयो ।
शिक्षामा उत्कृष्ट योगदान दिएको भन्दै नाइटिङ्गेल स्कूल २०७० देखि ०७२ सम्म लागातार तीन वर्ष सरकारको राष्ट्रिय पुरस्कारबाट विभूषित भएको थियो । सो स्कूलले आगामी दिनमा १०० शैयाको नाइटिङ्गेल अस्पताल निर्माण गर्ने, कलेज तहमा विविए, एम.वि.ए., वि.एन., वि.एस्सी नर्सिङ सञ्चालन गर्ने योजना रहेको संस्थापक चौधरीले जानकारी दिनुभयो ।
सो अवसरमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने तथा खेल र प्रदर्शनमा विजयी विद्यार्थीहरुलाई अध्यक्ष भट्टराई र फाउण्डर चौधरीले संयुक्तरुपमा पुरस्कार, पदक र सम्मानपत्र वितरण गर्नुभएको थियो ।