महोत्सवमा स्टल राख्नेलाई दैनिक हजार रुपियाँ आयोजकले दिने


सन्तकुमार चौधरी
गैडाकोट, (नवलपरासी) माघ १९ गते । नवलपरासीको गैडाकोटमा माघ २१ गतेदेखि दुईदिने खाद्य मेला हुनेभएको छ । मेलाको तयारी तीब्र भइरहेको आयोजक क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

प्रदर्शनीस्थल नारायणी नदी किनारमा आयोजना हुनलागेको मेलामा स्थानीय घरेलु तथा साना उद्योगका उत्पादन प्रदर्शनका लागि ६० भन्दाबढी स्टल रहने पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

परम्परागत खानालाई व्यावसायिकरण गर्न सकिने सम्भावनालाई मेलामा प्रदर्शनकोरुपमा राखिने मेला संयोजक दीपक सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार परम्परागत खानाको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा स्थानीय घरेल तथा साना उद्योगको उत्पादनलाई प्राथमिकता दिइने संयोजक सापकोटाको भनाई छ ।

गतवर्षदेखि नेपाल सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर मेला आयोजना गर्न लागेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख हस्त राईले जानकारी दिनुभयो । मेला नेपाल सरकार कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, रुपन्देहीले आयोजना गर्न लागेको हो ।

राईकाअनुसार नेपालीहरुको खानेबानीलाई परिवर्तन गर्न मेलाले सहयोग पुग्ने बताउनुभयो । उहाँले धान, मकै, गहुँ, कोदो नेपाली उत्पादनले नै पुग्ने अवस्था भएपनि नेपालीले खान नजानेकाकारण नेपाली उत्पादनले नपुगेर अन्य तेस्रो मुलुकबाट ल्याउनुपरेको बताउनुभयो ।

मेला अवलोकन निशुल्क बनाइने आयोजकको भनाई छ । मेलामा स्टल लिएवापत आयोजकले उल्टै स्टलवालालाई दैनिक एकहजार रुपैयाँ समेत प्रोत्साहनभत्ता स्वरुप प्रदान गर्नेछ ।

मेलामा पोषणको विषयमा समेत सर्वसाधरणलाई जानकारी दिइनेछ । कुल १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको मेलामा स्थानीय जातजातिका खानाका परिकार सँगै च्याउ, केरा, जुस, हिमालय क्षेत्रका उत्पादन, मौरीको उत्पादन, दुग्ध, नुन, उखु, चियापति, सिस्नुको पाउण्डर, लेकाली उत्पादन, आलुलगायत झण्डै ६० वटा भन्दाबढी घरेलु तथा साना उद्योगका उत्पादनको स्टल रहने आयोजकले जानकारी दिएको छ ।

मेला अवलोकन निशुल्क बनाइने आयोजकको भनाई छ । मेलामा स्टल लिएवापत आयोजकले उल्टै स्टलवालालाई दैनिक एकहजार रुपैयाँ समेत प्रोत्साहनभत्ता स्वरुप प्रदान गर्नेछ । मेला परिसरमा थारु समुदायको २ वटा होमस्टेको घर समेत देख्न पाइनेछ । यसअघि गतवर्ष लम्जुङमा खाद्य मेला आयोजना गरिएको थियो ।

यस्तो खालको मेलाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नमा टेवापूग्ने उद्योग बाणिज्य संघ गैडाकोटका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । नवलपरासी पर्यटकीय क्षेत्र भएकाले पनि यस्तो खालको गतिविधि जिल्लामा भइरहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया