आगामी माघ ७ नै नेपाली राजनीतिको लक्ष्मणरेखाः नेता नेपाल


काठमाडौं, माघ २२ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन गर्न नसके मुलुकमा अर्को समस्या आइपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा नेता नेपालले त्यस्तो बताउनुभयो । “माघ ७ लक्ष्मणरेखा हो, कसले के भन्छ प्रमुख विषय होइन, निर्वाचन गर्नतिर सरकार लाग्नुपर्छ” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री मुलुकको प्रमुख व्यक्ति भएकाले राष्ट्रिय दायित्वतर्फ लाग्न आग्रह गर्दै नेता नेपालले भन्नुभयो, “सरकार अब राष्ट्रिय दायित्वलाई ध्यान देओस्, व्यक्ति र पार्टीको पछाडि धेरै नलागोस् ।” निर्वाचनको तत्काल घोषणा गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

“वर्तमान सरकारको प्रमुख कार्यभार स्थानीयतहको निर्वाचन गर्नु नै हो, निर्वाचन विना यो सरकारको कुनै उपादेयता प्राप्त हुँदैन” नेता नेपालले भन्नुभयो । संविधानको कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धिमा लग्नु नै अहिलेको आवश्यकता रहेको भन्दै उहाँले प्रेसजगतले त्यसमा सहयोगी भूमिका खेल्नुपर्ने चर्चा गर्नुभयो ।

परिवर्तनको सम्वाहक एमाले पार्टी भएको दावी गर्दै नेता नेपालले भन्नुभयो, “मुलुकको हरेक परिवर्तनमा एमालेले लिडिङ रोल खेल्दैआएको छ, भोलि पनि खेल्छ ।” प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

एमाले प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले एमालेले माघ ७ को लक्ष्मणरेखा काट्न कुनै हालतमा नदिने बताउनुभयो । तीनै तहको निर्वाचनमा सरकार गम्भीर नबने एमालेले अर्को विकल्प तयार गर्ने उहाँले चेतावनी दिनुभयो । फागुन २१ देखि एमाले तराईमा राष्ट्रिय अभियान कार्यक्रम शुरुगर्न गइरहेको भन्दै उहाँले ५० लाख नागरिकसँग प्रत्यक्ष साक्षात्कार हुने बताउनुभयो ।

नेता प्रदीप नेपालले मुलुक परिवर्तनकानिम्ति प्रेस चौतारीमा आवद्ध पत्रकार तथा मुलुकका अन्य पत्रकारिता क्षेत्रले निरन्तर क्रियाशील हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले प्रचार विभागका सचिव विष्णु रिजाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्की, पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, प्रेस युनियनका अध्यक्ष वद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य, न्यूनतम पारिश्रमकका अध्यक्ष पोषण केसी, सञ्चारिका समूहका कमला पन्थी, मधेस मिडिया हाउसका डा. राजेश अहिराज, क्रियाशील महिला पत्रकारकी शुभेच्छा विन्दू, चौतारीका अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा चौतारीका संस्थापक तथा पूर्वअध्यक्षहरुलाई दोसल्ला र सम्मापत्रले सम्मानित गरिएको थियो । सम्मानित हुनेमा संस्थापक प्रदीप नेपाल, विजय चालिसे, गोपाल थपलिया, पूर्व अधयक्षहरु शम्भु श्रेष्ठ, बालकृष्ण चापागाई, गगन विष्ट, राजेन्द्र अर्याल हुनुहुन्छ ।

चौतारीका अध्यक्ष बस्नेतले चौतारीद्वारा स्थापित पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकारको नाम सार्वजनिक गर्नुभयो । उहाँकाअनुसार हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट कृष्णमुरारी भण्डारी, अग्नीशिखा पत्रकारिता पुरस्कारबाट रघु मैनाली, वीरेन्द्र साह युवा क्रियाशील पत्रकारिता पुरस्कारबाट भुषण यादव र मन्दिरा थापा तथा डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट जगत नेपाल र सिद्धराज राईलाई सम्मानित हुनु हुनेछ ।

शब्द र तस्विरः लक्की चौधरी

तपाईको प्रतिक्रिया