चितवन प्रहरीले यस वर्षलाई प्रशिक्षण वर्षको रुपमा मनाउँदै


सन्तकुमार चौधरी
चितवन, माघ २३ गते । चितवन प्रहरीले यो वर्षलाई प्रशिक्षणवर्षको रुपमा लिएको छ । वर्षभरी नै फरक फरक विधामा प्रशिक्षण दिइने चितवन प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रहरी जवानलाई हरेक विधामा तालिम दिएर दक्ष बनाउने योजना छ । यसै अन्तर्गत चितवन प्रहरीले संचालन गरेको ६ दिने घुम्ती प्रशिक्षण विशेष अनुशिक्षण तालिम आइतवार सकिएको छ ।

अपराध अनुसन्धान कसरी गर्ने, भिआई पी, भिभि आईपीलाई सुरक्षा कसरी दिने, कारागारको सुरक्षा कसरी गर्ने, विमानस्थलको सुरक्षालाई कसरी प्रभावकारी बनाउने, प्रहरी कार्यालयकै सुरक्षा कसरी गर्ने भन्ने विषयमा ६ दिनसम्म प्रशिक्षण दिइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

प्रहरीले भीड व्यवस्थापन कसरी गर्ने, भीडलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा समेत प्रशिक्षण गरिएको थियो । तालिममा सहभागी प्रहरी जवानहरुलाई सुरक्षा विशेष अनुशिक्षणमा सैद्धान्तिक र व्यवहारीकरुपमा तालिम दिइएको तालिमका प्रशिक्षक सई नवराज तिवारीले जानकारी दिनुभयो ।

तालिम समापन कार्यक्रमलाई संवोधन गर्दै प्रहरी प्रमुख थापाले तालिममा सिकेका विषयलाई व्यवहारमा उतार्न निर्देशन दिनुभयो । प्रत्येक नागरिकलाई सुरक्षाको अभाव भएको महशुस हुन नदिन तालिम प्राप्त जवानहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । तालिममा हवल्दार र सिपाही गरी ४२ जना प्रहरी जवानहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया