लक्की चौधरी
काठमाडौं, फागुन १ गते । नेपाल निर्माण व्यवसायी महासंघले हरेक निर्माण काममा कमिसन खुवाउनु पर्ने भएकाले विकास निर्माण कामले गति लिन नसकेको बताएको छ । कानूनी अड्चन र प्रणालीगत अभावकाकारण विकास निर्माण सुस्त भएको आरोप महासंघको छ ।
महासंघले केन्द्रीय कार्यसमितिको बैठकपछि आइतबार चन्द्रागिरि हिल्समा गरेको पत्रकार सम्मेलनमा त्यस्तो बताएको हो । सो अवसरमा महासंघका पदाधिकारीहरुले काम सम्पन्न भएर पनि करिब १५ अर्व रुपियाँ सरकारले व्यवसायीलाई अझै भुक्तानी नगरेको आरोप लगाउनुभयो ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले विभिन्न परियोजनाहरुको निर्माण काम सम्पन्न भएपनि निर्माण व्यवसायीहरुलाई सरकारले अरबौं मूल्य तिर्न बाँकी रहेको बताउनुभयो । गौचनले व्यवसायीहरुले पाउने करीब १५ अर्ब रुपैया तुरुन्त भुक्तानी गर्न सरकारसँग माग पनि गर्नुभयो ।
सरकारको ढिलासुस्ती र रवैयाकाकारण पूजिँगत खर्च कम भएको गौचनले प्रष्ट पार्नुभयो । “सरकारले अझैपनि पूर्णरुपमा व्यवसायीमैत्री ऐन बनाएर लागूगर्न सकेको छैन”, भन्दै अध्यक्ष गौचनले भन्नुभयो, “बैंकर्स एसोसियशनले मनपरी ढंगले व्याजको सीमा बढाएको छ, यो विषयमा हामी सरकार र एशोसियशनका पदाधिकारीसँग गम्भीर छलफल गर्नेछौं ।”
निर्माण व्यवसायीसँग विभिन्न पक्षले चन्दा र सहयोग मागेर हैरान गरेको बताउँदै अवका दिनदेखि कसैलाई कुनै किसिमको चन्दा सहयोग नगर्ने निर्णय बैठकले गरेको गौचनले जानकारी गराउनुभयो ।
आर्थिक तरलताको अभाव देखाएर बैंकर्सहरुले मौकाको फाइदा उठाउने प्रयास गरेको आरोप अध्यक्ष गौचनले लगाउनुभयो । एक अर्को प्रसंगमा उहाँले निर्माण व्यवसायीसँग विभिन्न पक्षले चन्दा र सहयोग मागेर हैरान गरेको बताउँदै अवका दिनदेखि कसैलाई कुनै किसिमको चन्दा सहयोग नगर्ने निर्णय बैठकले गरेको गौचनले जानकारी गराउनुभयो ।
अध्यक्ष गौचनले पूँजीगत खर्च कम हुनुमा ८० प्रतिशत सरकार र २० प्रतिशत निर्माण व्यवसायी दोसी रहेको बताउनुभयो । विभिन्न बहानामा सरकारले बजेट निकासा नगर्दा र नीतिगत कमजोरीले निर्माणको काममा ढिलासुस्ती हुँदा निर्माण व्यवसायी ठेकेदारलाई नै दोसी देखाउने प्रबृत्तिको अन्त्य गर्न उहाँले माग गर्नुभयो । सञ्चारमाध्यमलाई पनि कुरा बुझेर समाचार दिन उहाँले आग्रह गर्नुभयो ।
महासंघको बैठकले निर्माण व्यवसायी महिला संघ गठन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, महासंघको वर्तमान कार्य समितिले अबको एक वर्षभित्र केन्द्रीय कार्य समितिको अर्को बैठक मलेसियाको क्वालोलमपुरमा गर्ने निर्णय गरेको छ ।
सोहीअनुसार निर्माण व्यवसायीहरुका लागि छुट्टै सहकारी वित्तिय संस्था खोल्ने निर्णय भएको महासंघका महासचिव रामशरण देउजाले जानकारी गराउनुभयो । त्यस्तै, महासंघका प्रवक्ता विष्णु बुढाथोकीले कमिसन विना काम नहुने प्रबृत्तिको अन्त्य गरिनुपर्ने बताउनुभयो । सो विषयमा पत्रकारले कलम चलाउनुपर्ने उहाँले माग गर्नुभयो ।
महासंघका मानार्थ सदस्य जीपछिरिङ लामा शेर्पाले कन्सल्ट्याण्टहरुको ढिलासुस्ती, लापरवाही र कमजोरीका कारण निर्माणको काममा ढिलाई र अस्तव्यस्त हुनेगरेको आरोप लगाउनुभयो ।
महासंघको बैठकले सञ्चारमाध्यममा निर्माण व्यवसायीको बारेमा धेरै नकारात्मक समाचार आउने गरेको गुनासो गर्दै सकारात्मक भइदिन आग्रह गरेको छ । देशभरका निर्माण व्यवसायीको गतिविधि र कामकाजलाई बाहिर ल्याउन सञ्चारमाध्यमले पर्याप्त सहयोग नगरेकाले आगामी दिनमा महासंघले छुट्टै टेलिभिजन सञ्चालन गर्ने निर्णय गरेको पनि अध्यक्ष गौचनले जानकारी दिनुभयो ।