राम दहित
धनगढी, फागुन २ गते । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा आज सोमबार ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठा गरी उद्घाटन गरिएको छ ।
पशुपतिनाथ मन्दिरका मूल पुजारी भट्ट (प्रधान अर्चक) ले शिवपुरीधाममा प्राणप्रतिष्ठा धार्मिक महामहोत्सवको उदघाटन गर्नुभएको छ ।
उद्घाटनका लागि मुल भट्टलाई हेलिकप्टरबाट धनगढी ल्याइएको थियो । प्राणप्रतिष्ठाका लागि चारधाम लगायत १ सय ८ धार्मिकस्थलहरुबाट ल्याइएको जल र पुष्पद्वारा शिवपुरी परिसरमा हेलिकप्टरबाट पुष्पबृष्टि गरिएको थियो ।
शिवपुरीधाममा रहेको १ सय ८ फिट अग्लो ज्योतिर्लिङ्ग, १ सय ८ तुलसी मठ, एकसय आठ गौमुखी धारा, नेपालमाताको मन्दिर, सुर्यनारायणको मन्दिर लगायत थुप्रै धार्मिक आस्थाको धरोहरको रुपमा रहेको श्री शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धामको पशुपतिनाथ मन्दिरका मुल भट्ट (प्रधान अर्चक) ले अभिशेष गरी प्राणप्रतिष्ठा गर्नु भएको छ ।
प्राणप्रतिष्ठा पश्चात उहाँले यस्ता धार्मिक कार्यक्रमहरुले नेपाललाई हिन्दुराष्ट्र बनाउन मद्दत पुग्ने बताउनु भयो । फागुन १३ गतेसम्म आयोजना हुने धार्मिक महोत्सवमा व्रह्मनिष्ठ सन्त शिरोमणी स्वामी श्री लोकानन्द जी महाराज, बालब्यास पण्डित धर्मराज आत्रेय, भागवत भुषण श्री स्वामी वासुदेवानन्दजी दर्शन (काशी) लगायतका व्यक्तित्वहरुबाट शिवपुराण, विष्णु पुराण, देवी भागवत, गणेश पुराण, भागवत पुराण लगायतक धार्मिक कार्यहरु गरिने आयोजकले जानकारी दिएको छ ।
महामहोत्सव अवधिभर विवाह, व्रतदन्ध, ८४ पुजा, गृहशान्ति, कालसर्पयोग निवारण, लगायतका विभिन्न बैदिक कार्यहरु गरिने आयोजकले जानकारी दिएको छ ।